सरुवा भएर हिड्न लागेका प्रजिअले देखाए मानवीय कार्यको उदाहरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ १ । आईतवार बिहान जिल्ला रेडक्रस सोसाईटी ताप्लेजुङका मन्त्री विकास गौतमलाई ‘ओ पोजेटिभ’ ब्लड ग्रुप (रक्त समूह)को रगत खोजीदिन आठराई त्रिबेणी गाउँपालिकाबाट फोन आयो । उहाँले यो समूहको रक्तदान गर्न इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक आवहन गर्नुभयो । आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ साविक हाङ्पाङ ८ की गर्भवती बिरामी चन्द्रकला बिक यो समूहको रगत नपाउँदा समस्यामा हुनुहुन्थ्यो । उहाँको बिरामले सीमा काटेको थियो । शरिरमा रगतको अभावले उहाँ छट्पटाई रहनु भएको थियो । यो थाह पाए पछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गौतमलाई फोन गर्नुभयो । निरौलाले आफ्नो रक्त समूह पनि माग भएको समूहसँग मिल्ने भएकोले जीवन जोखिममा परेकी महिलाको उद्धारका लागि आफु रक्तदान गर्न तयार भएको भन्दै यसका लागि वातावरण बनाउन गौतमलाई आग्रह गर्नुभयो । प्रजिअ निरौलाले दिएको त्यै रगतले अहिले चन्द्रकलाको मुर्छित जीवन फेरी व्युँतिएको छ । रक्त संचार केन्द्र अर्थात् ब्लड बैंक नभएको ताप्लेजुङ जिल्लाको पींडा हो‘ब्लड ग्रुप अनुसारका मानिसको अभिलेख राख्ने र आवश्यक परेको बेला उनीहरुलाई रक्तदानका लागि सार्वजनिक आवहन गर्ने’ । यो काम जिल्ला रेडक्रस सोसाईटी ताप्लेजुङले गर्दै आई रहेको छ । रेडक्रसले ब्लड ग्रुप अनुसारका मानिसहरुको अभिलेख राख्छ र माग भए अनुसार रक्तदान गर्न योग्यहरुलाई सार्वजनक आवहन र अनुरोध गर्छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय तर्दथ समितिका सदस्य समेत रहनु भएका ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ सरुवा भएर जान लागेका प्रजिअले कर्मक्षेत्रका नागरिक प्रतिको देखाएको स्नेह भुल्न नसकिने तहको रहेको बताउँनुहुन्छ । ‘सरुवा भएर जान लागेको व्यक्तिले आ…! अन्तै कतै खोज्लान् नी’भनेर ढुक्क नमानी मानवीय जीवन बचाउन अग्रसर भएको योगदान अविस्मरणीय रहन्छ नै’ उहाँले भन्नुभयो । ब्लड बैंक नभएको जिल्लाका नागरिक र कार्यरत राष्ट्रसेवकले मिल्दो रक्त समूह अनुसार आवश्यक पर्ने रगत दान गरेर असंख्य मानवीय जीवन जोगाउँदै आएका छन् । तिनै मध्येका एकमा पर्नु भएको छ,प्रजिअ निरौला । पहिलो पटक प्रजिअ बन्दै बिना बिबाद र बिना पूर्वाग्रह जिल्लाको प्रशासनिक निकाय हाँकेर १ बर्षे अवधि पूरा गर्नु भएका निरौलाको इलाम जिल्लामा सरुवा भएको छ । उहाँ बुधवार इलामतर्फ लाग्दै हुनुहुन्छ । उहाँप्रति सम्मान दर्शाएर कतिपय नागरिकले जिल्लाको प्रशासनिक निकायको कुशल नेतृत्व र व्यवस्थापन गर्दापनि सहायक प्रजिअको जिम्मेवारी दिएकोमा सरकारी निर्णयको आलोचा पनि गरेका छन् । कुशल प्रशासकको प्रशासनिक दक्षतालाई सरकारले राम्रोसंग नबुझेको भनेर उहाँको सरुवा प्रति कटाक्ष गर्नेहरु पनि छन् । नेपाल पत्रकार महासंघ ताप्लेजुङका संस्थापक सभापति मनमणि काफ्ले सरुवा भएर जान लाग्नु भएका प्रजिअले देखाएको यो मानवीय गुण जिल्लाका आम नागरिकले बिगतमा रक्तदान गरेर देखाएको मानवता भन्दा कम नरहेको बताउँनुहुन्छ ।‘सरुवा भएर बिदाबारी भईसकेको मान्छले आफैं अग्रसर भएर जोखिममा परेको मान्छेलाई रगत दिन तत्परता देखाउनु चानचुने कुरा होईन’उहाँले भन्नुभयो । यो घटनाले सरुवा भएर जान लागेका मान्छेलाई अहिले सम्मको कर्मक्षेत्रको अगाध माया रहेको स्पष्ट हुने जिल्ला रेडक्रस सोसाईटीका मन्त्री गौतमले ठम्याउनु भएको छ । भन्नुभयो‘यो अरुका लागि पनि एउटा सकारात्मक सन्देश बन्ने छ’ । उहाँले रक्तदान गरेर अहिले सम्म कयौं मानिसको ज्यान बचाउने कार्यमा अग्रसर निरौलासहित आम रक्तदाताप्रति सम्मान प्रकट गर्नु भएको छ । यस्ता कार्यले निरन्तरता पाएमा पुण्यप्राप्तिका लागि धेरै समय पर्खन नपर्ने उहाँको बुझाई छ ।
फोटो ः रक्तदान गर्दै प्रजिअ निरौला । तस्बिर ः उज्यालो पोष्ट न्युज ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts