|

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र बनाइने

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, साउन ३० ।
ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको छ । सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालिएको हो ।
हाल ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत सदरमुकाम फुङ्लिङ बजारसहित फुङ्लिङ नगरपालिकाका विभिन्न वडाका उपभोक्तालाई खानेपानी सुविधा प्रदान गरिँदै आएको छ । समितिले उपभोक्ताको घर–घरसम्म पाइप तथा धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराउँदै आएको भए पनि बर्खा सिजनमा पानी धमिलो र मैलो हुने भएकाले स्वच्छ पानीका लागि प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाइएको हो ।
फुङ्लिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ पानीको सुविधा उपलब्ध गराउनेगरी दैनिक १६ लाख लिटर पानी प्रशोधन गर्नेगरी केन्द्र निर्माणको परियोजना सुरु गर्न लागिएको ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव रणबहादुर कार्कीले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिका–४ र ७ मा पर्ने तोक्मेडाँडा नर्सरी क्षेत्रमा उच्च प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाएको समितिका अध्यक्ष कमल गुरागाईंले बताउनुभयो ।
हाल उपभोग गरिँदै आएको पानीको मुहानमा बर्खा सिजनमा दर्के वर्षा हुँदा सडक नाली सहितको भलपानी पसेर फोहोरमैला हुने समस्या रहेकाले मैलो÷धमिलो पानीलाई फिल्टर गरेर स्वच्छ बनाउनेगरी उक्त प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको अध्यक्ष गुरागाईंले बताउनुभयो । उहाँका अनुसार प्रशोधन केन्द्र परियोजना निर्माणका लागि उपयक्त र आवश्यक जग्गा उपलब्ध भएमा सङ्घीय सरकारअन्तर्गत खानेपानी तथा व्यवस्थापन आयोजना इलाममार्फत चालू आवदेखि नै योजना स्वीकृत भई बजेटसमेत व्यवस्था भएर निर्माणको कार्य सुरु हुने छ ।
प्रशोधन केन्द्र परियोजनाका विषयलाई लिएर शुक्रबार उपभोक्ता समितिले आयोजना गरेको अन्तरक्रियामा सबै पक्ष तथा क्षेत्रसँग समन्वय गरेर केन्द्र निर्माणको प्रक्रिया सुरु गर्न सहभागीले सुझाव दिएका छन् । प्रशोधन केन्द्रका लागि पर्याप्त जग्गा अर्थात धेरै क्षेत्रफल चाहिने हुँदा सो उपलब्ध हुनलाई सहज नहुने सरोकारवालाले बताएका थिए ।
निजी जग्गा भए जग्गाधनीसँग र सार्वजनिक भए सामूदायिक तथा डिभिजन वन कार्यालय लगायतका निकायसँग समन्वय गनुपर्ने सरोकारवालाले सुझाएका छन् । कार्यक्रममा पूर्व सांसद तिलकुमार मेन्याङ्बो, प्रदेश १ का सांसद बलबहादुर साम्सोहाङ, जिल्ला समन्य समितिका प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलसहित स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
यता ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत हालसम्म फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङ क्षेत्रका विभिन्न छ वटा मुहान र पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका दुईवटा मुहानको पानी उपभोक्तालाई वितरण हुँदै आएको छ । उक्त मुहानहरुबाट ल्याइएको खानेपानी विभिन्न ११ वटा रिजर्भ ट्याङ्कीमार्फत दैनिक १२ लाख ६० हजार लिटर पानी सदरमुकाम बजारसहित फुङ्लिङ नगरपालिका वडा नं. १ देखि ८ सम्म एक हजार ८२७ वटा धारा जडान गरी उपभोक्तालाई सुविधा दिँदै आएको समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts