बारा र पर्सामा चार जना प्रहरी र चार थुनुवासहित थप ७० जनामा कोरोना पुष्टि

अरुलाई पनि शेयर गरौ !

वीरगञ्ज,साउन २७ । नारायणी अस्पताल वीरगन्जको पिसिआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका ६५ जना र बाराका ५ जनासहित थप ७० जनालाई यहाँ कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार राति आएको एउटा रिपोर्टअनुसार पर्साका ५२ जना र बाराका ३ जनासहित थप ५५ जनालाई यहाँ कोरोना संक्रमण पुष्टि भएको हो । अबेर राति आएको अर्को रिपोर्टअनुसार अरु १५ जना संक्रमित थपिए । यसरी पर्सा र बारा गरी वीरगन्जमा पछिल्लो पटक ७० जना संक्रमित थपिएका हुन । नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा ३ वर्षीया बालिकादेखि ८६ वर्षीया बृद्धासम्म रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताउनुभयो । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका चार जना प्रहरी रहेका छन् । त्यहाँ रहेका चार जना थुनुवामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षीय गरी दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मी गरी तीन जना पनि छन् । उनीहरु नेशनल मेडिकल कलेजकै एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा संक्रमित भेंटिएका हुन् । नारायणी अस्पतालको कर्मचारी आवासबाट ५ वर्षीया बालिकासहित ३ जनामा संक्रमण देखिएको छ । वीरगन्ज माहानगरपालिका बिर्ताका ८६ वर्षीया बृद्धासहित ९ जना, छपकैयाका ५ जना र वीरगंज माईस्थानका ३ जना संक्रमित रहेको छन् । वीरगंजबाट फेला परेका अरु संक्रमितहरुमा यहाँको घण्टाघर भानुमार्ग,आदर्शनगर, रामटोल, मुर्ली, रेशमकोठी, भिषुवाका बासिन्दा रहेका छन् । पर्साकै धोबिनी गाउँपालिका –३ का १ जना पनि संक्रमितमा रहेका छन् । त्यस्तै बाराको बिश्रामपुर गाउँपालिका –५ इटियाहीका १ जना, पथलैयाका एक जना र कुटुवाका १ जना छन् । बाराकै सिमरा क्वारेन्टाइनका एक जना ४५ वर्षीय पुरुष र निजगढका एक जना सशस्त्र प्रहरी मा पनि कोरोना पुष्टि भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts