असारे विकास रोक्न सिरिजङ्घाको कार्ययोजना ः दोस्रो चौमासिक भित्रै पूर्वाधारका काम सक्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । सरकारी कर्मचारीका लागि सामान्यतया अरु भन्दा साउन महिना केहि फुर्सदिलो मानिन्छ । स्थानीत तह सहितका विकासे कार्यालयका कर्मचारी असारको महिनाको व्यस्ततालाई समेत भूलेर साउनमा फुर्सदको श्वास लिईरहेका भेटिन्छन् । तर,ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले भने आर्थिक बर्षको सुरु अर्थात् साउन महिनाबाटै कर्मचारीलाई व्यस्त बनाएर आवको उत्तरार्ध समय जेठ–असार महिना केहि फुर्सदिलो बनाउने नीति अख्तियार गरेको छ । गाउँपालिका प्रशासनले आर्थिक बर्षको पहिलो चौमासिकलाई योजना छनौट र सम्झौता,दोस्रो चौमासिकलाई कार्य प्रगति र तेस्रो चौमासिकको सुरुआती दुई महिनालाई योजना अनुगमन,योजनाको प्रगति विबरण तयारी र फोरफारक हुने गरी कार्य योजना तय गरेको छ । गाउँपालिका प्रशासनले पूर्वाधारका अधिकाँस काम हिउँद याम भित्रै पूरा गर्नेगरी कार्ययोजना तयार गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले असारे विकास रोक्ने अभियान स्वरुप आवको सुरुआतबाटै कार्य प्रगति लिने अभियानमा गाउँपालिका प्रशासन कार्य अभ्यस्त हुन थालेको जानकारी दिनुभयो । आर्थिक बर्ष सकिनै लाग्दा बर्षाको भेलसंगै जुध्दै गरिएका पूर्वाधार निर्माणले फजुल खर्च बढाउने र राज्य कोषको गलत उपयोग हुने अवस्थाबाट पाठ सिकेर गाउँपालिकाले बर्षा याम अघि नै पूर्वाधार निर्माणका कार्य अघि बढाउने योजना तय गरेको घिमिरेले जानकारी दिनुभयो ।‘मैले कर्मचारी साथीहरुलाई चालू आवबाट तपाँईहरुले जेठ–असार महिनामा फुर्सद पाउनु हुन्छ पनि भनेको छु’घिमिरेले भन्नुभयो‘तर,त्यसका लागि बनाईएको कार्ययोजना भने प्रभावकारी कार्यान्वयन गर्न सबै सहकर्मीले अहिलेबाटै काम गर्नुपर्छ’। त्यहिँ उद्देश्यका साथ अरु निकायका लागि केहि फुर्सदिलो समय मानिएको साउन महिना सिरिजङ्घामा भने व्यस्त समयकै रुपमा रहेको घिमिरेले बताउनुभयो । गाउँपालिकाका कर्मचारी उज्वल श्रेष्ठले गाउँपालिका प्रशासनबाट बिदाका दिन बाहेक अरु दिन नछुटाईकन कार्यालयको काममा व्यस्त रहन निर्देशन आएको बताउनुभयो । ‘फुर्सद अब जेठ–असार तिर मात्र हुन्छ होला’उहाँले गाउँपालिका प्रशासनले तय गरेको हिउँद याम अघि नै पूर्वाधारका काम सक्ने योजना कार्यान्वयन गर्नेमा दृढता देखाउँदै भन्नुभयो । गाउँपालिका प्रशासनले जेठ महिनालाई क्षमता विकास तालिम,गोष्ठी,सेमीनार लगायतका कार्यमा मात्र केन्द्रित गर्ने योजना बनाएको छ । पूर्वाधार विकासका अधिकाँस कार्यक्रम हिउँद याममै सम्पन्न गर्न अब उपभोक्ता समितिलाई समेत कडाई गरिने छ । अघिल्लो आव २०७६।०७७ मै गाउँपालिका भित्रका सबै ८ वटै वडामा टोल विकास संस्था गठन गरिसकिएकोले अब तिनै टोल विकास संस्थालाई उपभोक्ता समितिको जिम्मेवारीको रुपमा अघि बढाउने गरी गाउँपालिकाले चालू महिनाबाटै योजना अघि बढाई सकेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । साविकका प्रत्येक गाविसका प्रत्येक वडालाई आधार मानेर त्यहाँ ७२ वटा टोल विकास संस्था गठन गरिएको छ । टोल विकास संस्थालाई नै उपभोक्ता समितिको स्वरुपमा लगेपछि योजना सम्झौता पछि गाउँपालिका प्रशासनले नियमित रुपमा कार्य प्रगति बारे जानकारी लिने छ । ‘योजना अनुसार कामको अवस्थाका बारेमा उपभोक्ता समितिलाई नियमित फलो गर्ने,काम नगर्ने उपभोक्ता समितिलाई कार्यविधि अनुसार एक्सन लिने कार्य समेत हुने छ’प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो । उपभोक्ता समितिलाई काम गर्नमा प्राविधिक र सामाजिक कठिनाई आएको अवस्थामा गाउँपालिकाका पदाधिकारी र पालिका प्रशासनले सहजीकरण गर्न सक्ने अवस्था समेत उहाँले औंल्याउनुभयो ।‘असारे विकास पूर्णतया रोक्न गाउँपालिका प्रशासनले गम्भिरतापूर्वक कार्ययोजनाको कार्यान्वयन गर्ने छ’प्रमुख प्रशासकीय अधिकृत घिमिरेले दोहो¥याउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts