स्वाब सङ्कलनमा खट्ने जनशक्तिले पाउने भए प्रोत्साहन रकम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले स्वाब सङ्कलनका क्रममा खटिने स्वास्थ्यकर्मीका लागि थप प्रोत्साहन रकम दिने निर्णय गरेको छ । समितिको शुक्रबारको बैठकले स्वाब सङ्कलनका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई एक पटक स्वाब सङ्कलन गरेको जनही ५०० रुपैयाँका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको हो ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार स्वाब सङ्कलनका क्रममा एक पटकमा बढीमा ३ जना जनशक्ति परिचालित हुन सक्नेछन् । उनीहरुले एक पटक स्वाब सङ्कलन गरेको जनही ५०० रुपैयाँका दरले प्रोत्साहन रकम पाउने छन् ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले आफ्नै कोष खाता सञ्चालनमा आएपछि सोही कोषबाट खर्च गर्नेगरी स्वाब सङ्कलनमा खटिने स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन रकम दिन लागेको समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो । अहिले समिति संयोजक र सदस्य सचिवको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनेगरी नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखामा खाता सञ्चालन भएको छ ।
खातामा यसअघि नै यहाँका ९ स्थानीय तहले २–२ लाख रुपैयाँ जम्मा गर्ने सहमति गरेका छन् । कतिपय स्थानीय तहले सो रकम जम्मा गरिसकेको र कतिपय जम्मा गर्ने क्रममा रहेको समिति सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । यो भन्दा पहिलो यहाँका सबै स्थानीय तहले आ–आफ्नै पालिकामा कोभिड–१९ रोकथाम, राहत, नियन्त्रण तथा व्यवस्थापन खाता सञ्चालनमा ल्याएका थिए ।
सदरमुकाम फुङ्लिङमा रहेको होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा राखिने बिभिन्न पालिकाका नागरिकको व्यवस्थापन तथा आवास खर्च, पीसीआर परीक्षण खर्च र अन्य स्वास्थ्य उपचार खर्चका लागि पालिकाकै आर्थिक सहयोगमा जिल्ला तहमा समेत सहयोग कोष खाता सञ्चालनमा आएको हो

अरुलाई पनि शेयर गरौ !

Similar Posts