निजी विद्यालयलाई प्याब्सनले भन्यो ः चोरबाटोबाट शुल्क नउठाउनू
काठमाडौ,असार १९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो ।‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले भन्नुभयो, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि विद्यालयले चोरबाटोबाट शुल्क नलिन आग्रह गर्दछु ।’ विद्यार्थीलाई पढाएबापत अभिभावकसँग शुल्क उठाउनु विद्यालयको अधिकार नै भएकाले सरकारसँग कुरा गरिसकेपछि शुल्क लिइने पुरी बताउनुहुन्छ ।
आइतबारदेखि अनलाइन कक्षा बन्द गर्ने चेतावनी
निजी विद्यालय सञ्चालकहरूले गत बुधबार राहत प्याकेजसहितको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ । शुक्रबार साँझसम्म सरकारले आफूहरूको माग पूरा नगरे पठनपाठन ठप्प पार्ने प्याब्सनले चेतावनी दिएको छ ।‘हाम्रो माग पूरा नभए शनिबार बैठक बसेर आइतबारदेखि सम्पूर्ण अनलाइन कक्षा बन्द गर्ने निर्णय गर्छौं’ प्याब्सन अध्यक्ष पुरी भन्नुहुन्छ । वैशाखदेखि शिक्षकहरूलाई तलब खुवाउन नसकेको उहाँको भनाइ छ । बैंकको व्याज, किस्ता र भाडा तिर्न नसकिरहेका बेला शुल्क उठाउन नपाउने भएपछि अनलाइन कक्षा सञ्चालन गर्नुको तुक नभएको पुरीको भनाइ छ । स्रोत ः अनलाईन खबर