कोरोना रिपोर्ट नआउँदै दाहसंस्कार
काठमाडौँ — कोभिड–१९ को लक्षण देखिएर अस्पतालमा मृत्यु भएका बिरामीको रिपोर्ट नै नआई परिवारले दाहसंस्कार गरेको छ । मृत्यु हुनेमा धनुषाको लालगढका ३५ वर्षीय पुरुष छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
बिरामी युवकलाई गत मंगलबार काभ्रेको धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएपछि ‘शव राख्ने ठाउँ छैन’ भन्दै अस्पतालले रिपोर्ट नआउँदै दाहसंस्कार गर्न लगाएको आफन्त कृष्ण खनालले बताए ।
‘मृतकमा कोरोना रैछ भने हामी मलामी सबैलाई सर्छ, रिपोर्ट नआएसम्म शव लैजाँदैनौँ भन्दा अस्पतालले मानेन,’ उनले भने, ‘रिपोर्ट आउन धेरै दिन लाग्छ भनेर जबर्जस्ती शव उठाउन लगाए । मर्ने त मरेर गए, जिउँदालाई पनि रोग लाग्ने जोखिम भयो ।’ ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएका लालगढका ती युवक एक सातादेखि बिरामी थिए । निकै गाह्रो भएपछि परिवारले उनलाई बर्दिवासको शुभ स्वस्तिक अस्पतालमा लगेका थिए । ‘कोभिडको लक्षण छ’ भन्दै अस्पतालले बिरामीलाई जनकपुर अञ्चल अस्पताल रिफर गरेको थियो ।