| |

बज्रगुरु मन्त्रजप सम्पन्न, बीस हजार भक्तजन सहभागी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १७ । ताप्लेजुङमा आयोजित बज्रगुरु मन्त्रजप पूजामा करिव बीस हजार बढी भक्तजन सहभागी भएका छन् । भौतिक सुख तथा मानव शान्तिको कामना गर्दै आयोजना गरिएको तीन दिने चौंथो बज्रगुरु मन्त्रजप पूजामा उक्त सङ्ख्यामा भक्तजन सहभागी भएका हुन् ।
सोमबार सुरु भई बुधबार सम्पन्न तीन दिन बज्रगुरु मन्त्रजप पूजामा विभिन्न आस्थाका २० हजार बढी भक्तजन सहभागी भएका मन्त्रजप पूजा आयोजक समितिका सदस्य–सचिव पासाङरिता शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बौद्ध मार्गीहरुसँगै हिन्दू, किराँतलगायत धर्ममा आस्था राख्ने नागरिक समेतले मन्त्रजप पूजामा सहभागिता जनाएका छन् ।
प्रमुख लामा जोपा रिम्पोछेले मन्त्रजप पूजामा तीन दिनसम्म नै प्रवचन दिनुभएको शेर्पाले जानकारी दिनुभयो । यस्तै औतारी लामा गुरु तीन जना, आयार्च लामा गुरु तीन जना र अन्या लामा गुरु तीनसय जनाले पूजामा पाठप्रवचन गर्नुभएको उहाँले बताउनुभयो ।
यता मन्त्रजप पूजामा करिव ७५ लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको पनि सदस्य–सचिव शेर्पाले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये मन्त्रजप पूजा व्यवस्थापन लगायतमा ५० लाख जति खर्च हुने र बाँकी २५ लाख रुपियाँ नाफा अर्थात बचत हुने अवस्था रहेको उहाँले बताउनुभयो । पूजाको यथार्थ आयव्यय विवरण आउनलाई भने केही दिन लाग्ने उहाँको भनाइ छ ।
भौतिक सुख तथा आध्यात्मिक चिन्तनका माध्यममार्फत मनमा शान्ति मिल्ने उद्घोषसहित यहाँ बज्रगुरु मन्त्रजप पूजा आयोजना गरिँदै आएको छ । यसअघि मन्त्रजप पूजाको पहिलो, दोस्रो र तेस्रो संस्करण सम्पन्न गरिएका छन् । मन्त्रजप पर्यटकीय स्थल सुकेटारस्थित सिरेटो हिल रिसोर्ट परिसरमा आयोजना गरिएको थियो ।
बज्रगुरु मन्त्रजप पूजा बौद्ध धर्मसँग सम्बन्धित भए पनि सबै धर्ममा आस्था राख्ने भक्तजनको सहभागिताले साझा कार्यक्रमजस्तै बन्दै गएको छ । सबै धर्मको उद्देश्य मानिसलाई नैतिकवान बनाउने र दया, माया तथा करुणा भाव प्रदर्शन गर्ने भएकाले धार्मिक सद्भावसहित मन्त्रजप पूजा भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्डोल लामाको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts