वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण भएको कार्य सम्पादन मूल्याङ्कनमा सिरिजङ्गा पहिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ५ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका जिल्लाकै पहिलो भएको छ ।
मैवाखोला गाउँपालिका सिरिजङ्गा भन्दा न्यून अंकले दोस्रो हुँदा फुङलिङ नगरपालिका तेस्रो भएको छ । आयोगले आफ्नो वेवसाईटमार्फत प्रकाशित गरेको नतिजा अनुसार सिरिजङ्गा गाउँपालिकाले ६९.९१ अंक प्राप्त गरेको छ । दोस्रो भएको मैवाखोलाले ६९.७७ अंक पाएको छ । ६५.०८ अंक सहित फुङ्लिङ नगरपालिका तेस्रो हुँदा ६४.६४ अंक सहित पाथीभरा याङ्वरक गाउँपालिका चौथो भएको छ । सिदिङ्वा गाउँपालिकाले ६३.३५ अंक ल्याएर पाँचौं स्थान कायम गर्दा ५२.७७ अंक सहित मेरिङ्देन गाउँपालिका छैटौं भएको छ । यस्तै ४९.५७ अंक सहित आठराई त्रिबेणी गाउँपालिका सातौं हुँदा ४७.१५ अंक सहित फक्तालुङ गाउँपालिका आठौं भएको छ । अंक तालिकाको सबैभन्दा पुछारमा मिक्वाखोला गाउँपालिका रहेको छ । जसको ४५.८० अंक रहेको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकन हुने गर्छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०÷८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचाकंका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो । आयोगले नगर तथा गाउँ कार्यपालिकाले असार १० गते भित्र आर्थिक बर्ष २०७९।०८० को राजश्व र व्ययको अनुमान सम्वन्धित नगर तथा गाउँसभामा पेश गरेको छ की छैन, राजश्व र व्ययको अनुमान असार मासन्त सम्ममा सम्वन्धित नगर तथा गाउँसभाबाट पारित गरेको छ की छैन,स्थानीय तहले घर जग्गा रजिष्ट्रेशन शुल्क,मनोरञ्जन कर,विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ की छैन जस्ता आधारलाई सूचक बनाएर मूल्याङ्कन गरेको थियो ।
यस्तै आयोगले स्थानीय तहले आव २०८०।०८१ को आयव्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको बिबरण २०७९ साल पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गरेको छ की छैन,बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरी तत् सम्वन्धी बिबरण २०७९ कात्तिक मसान्त भित्र सार्वजनिक गरेको छ की छैन जस्ता बिषयलाई मूल्याङ्कनको सूचक बनाएको थियो । यस्तै आर्थिक बर्ष २०७९।०८० को राजश्व संकलनको प्रक्षेपित लक्ष्य,आव २०७८।०७९ र २०७७।०७८ को यथार्थ राजश्व संकलन,२०७८।०७९ को कूल बिनियोजित रकम खर्च रकम,सो आवको कूल पुँजीगत रकम र खर्च रकम,आव २०७७।०७८ को कूल लेखा परीक्षण भएको रकम र सो आवमा कायम भएको बेरुजु रकमलाई समेत मूल्याङ्कनको सूचक बनाइएको थियो । यस्तै स्थानीय सञ्चित कोष प्रणाली प्रयोग भए नभएको,आवधिक योजना तर्जुमा गरे नगरेको देखि ४ पटक गर्भजाँच गर्ने महिलाको संख्या,स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या,२४ महिना सम्मका बालबालिकाको अनुमानित संख्या र पूर्ण खोप लगाएका बालबालिकाको तथ्याङ्क अद्यावधिक सहितका सूचकलाई मूल्याङ्कनको आधार बनाइएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts