शान्ति आविका बीस बिद्यार्थीले पाए हर्कमान–दिलमाया स्मृति छात्रबृत्ति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ स्थित शान्ति आधारभूत बिद्यालयका २० जना बिद्यार्थीलाई हर्कमान–दिलमाया स्मृति छात्रबृत्ति प्रदान गरिएको छ ।
हर्कमान दिलमाया स्मृति प्रतिष्ठानले ५ औं स्मृति दिवसको अवसर पारेर बिद्यालयमा स्थापना गरेको १ लाख रुपैंयाको अक्षयकोषको ब्याजबाट छात्रबृत्ति प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बिद्यालय उत्कृष्ट हुने दुई बिद्यार्थी सहित कक्षा २ देखि ७ सम्मका कक्षामा प्रथम,द्धितीय र तृतीय हुने बिद्यार्थीलाई छात्रबृत्ति स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको हो ।

ताप्लेजुङभरीका सुन चाँदी व्यवसायीहरुको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष तथा फुङलिङ नगर कार्यपालिका सदस्य गंगाराम शंकर र उहाँको परिवारले शान्ति आधारभूत बिद्यालयमा हर्कमान–दिलमाया स्मृति अक्षयकोष स्थापना गर्नु भएको हो । हर्कमान गंगारामका बुवा तथा दिलमाया उहाँकी श्रीमति हुनुहुन्थ्यो । हर्कमान र दिलमायाको मृत्यु पछि सामाजिक कार्यमा केहि योगदान दिन भन्दै शंकर परिवारले सो बिद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अथिति फुङलिङ नगरप्रमुख अमिर मादेनले अक्षयकोष स्थापनामार्फत सहयोग गरेर शंकर परिवारले आफ्ना दिवंगत परिवारका सदस्यको स्मरण गर्ने कार्यले सामाजिक योगदानमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा फुङलिङ नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवार,वडा नं २ का वडाध्यक्ष तथा प्रवक्ता मोहन न्यौपाने,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर गुरुङ,निजी तथा आवासीय बिद्यालयहरुको छाता संस्था प्याब्सनका पूर्व केन्द्रीय सदस्य युवराज गिरी,पूर्व जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङ,प्याब्सनका जिल्ला सचिव तरुण भारती लगायतको उपस्थिति रहेको थियो ।

Similar Posts