|

आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २१ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा गएको सोमबार एक आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले एकजनालाई झापाको बिर्तामोड र अर्कोलाई फुङ्लिङ बजारकै हेलिप्याड क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो ।
सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकमा रहेको आईएमईमा लुटपाट मच्चाउनेमध्ये एकजनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । लुटपाट मच्चाउने चारजनाको समूहमध्ये बाँकी एकजनाको खोजी भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिनुभयो ।
वीरेन्द्रचौकस्थित कञ्चन मनि ट्रास्फरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर उक्त लुटेरा समूहले सोमबार बिहान लुटपाट मच्चाई आईएमईमा भएको नगद र सेवाग्राहीले जाकट (बन्दक) राखेका सुनका गहगहाना लुटेका थिए । लुटपाट भएकै दिन पक्राउ परेका फुङ्लिङ नगरपालिका ३ हेलिप्याडका एकजनाको साथबाट नगद छ लाख रुपियाँ र झोलामा बोकेको सुनका गरगहाना प्रहरीले बरामद गरेको थियो । हाल पक्राउ परेका तीन जनामाथि अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो ।
यता पक्राउ परेकाहरुको नाम र पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धानको क्रम जारी रहेको र फरार भएकाको पनि खोजी कार्य भइरहेकाले विवरण सार्वजनिक गर्नलाई समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लुटेरा समूहले आईएमईमा रहेको करिव ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटेर लगेका बताइएको छ । आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ नेपाल बाहिर भ्रमणमा रहनुभएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts