ताप्लेजुङको पाथीभरा क्याम्पसमा ‘बिद्यार्थीसंगै माछापुछ्रे बैंक’अभियान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । बिद्यार्थीमार्फत अभिभावक र समुदायका सदस्यलाई बित्तीय प्रणालीका बारेमा अनुशिक्षित गराउने उद्धेश्यले माछापुछ्रे बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले पाथीभरा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘बिद्यार्थीसंगै माछापुछ्रे बैंक’अभियान अन्तरगत क्याम्पसका एकसय भन्दा बढी बिद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको माछापुछ्रे बैंकका फुङलिङ शाखा प्रवन्धक उमेश बाँस्कोटाले जानकारी दिनुभयो ।
अभिमुखीकरणमा आयस्रोतको आधार निर्माणको पहिचान गर्ने तरिका देखि प्राप्त आम्दानीको सहि सदुपयोग कसरी सम्भव छ भन्ने बारेमा जानकारी गराइएको बैंकले जनाएको छ । शाखा प्रवन्धक बाँस्कोटाले वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न प्रेरित गर्ने तथा जोखिम न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो । बिद्यार्थी उमेर देखि नै अर्थ तथा वित्त सम्वन्धी असल संस्कार र आचरणप्रति अभ्यस्त हुन सकेमा परिवार,समाज र राष्ट्रले उचित प्रतिफल पाउने उहाँले जानकारी दिनुभयो ।
वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । मूलतःप्रविधिको बढ्दो प्रयोग र आकर्षणका कारण बिद्युतीय प्रणालीको प्रयोगमार्फत सञ्चालन गरिने वित्त कारोवारलाई कसरी व्यवस्थित,गुणात्मक र संख्यात्मक बृद्धि गर्न सकिन्छ भन्ने बारेमा अनुशिक्षण केन्द्रित भएको बैंकले जनाएको छ । कार्यक्रममा पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख मोहनकुमार राईले बिद्युतीय वित्तीय साक्षरता र यसको महत्व दर्शाउन यस्ता अनुशिक्षण प्रभावकारी हुने बताउनुभयो ।