|

‘पारिवारिक निजी वनलाई कृषिसँग जोड्न आवश्यक’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ९ । गते । पारिवारिक निजी वनलाई कृषिसँग जोडेमा आम्दानीको बलियो स्रोत बनाउन सकिने सरोकारवालाले बताएका छन् । शुक्रबार पारिवारिक निजीवन सङ्घ ताप्लेजुङले फुङ्लिङमा आयोजना गरेको एक अन्तक्र्रियामा निजी वनलाई कृषिसँग जोड्न सकेमा आत्मनिर्भर बन्नमा सघाउ पुर्याउने सरोकारवालाले धारणा राखेका हुन् ।
पारिवारिक निजीवनका सम्भावना र चुनौती विषयक अन्तक्र्रियामा जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पारिवारिक निजी वनलाई हरेक परिवारले आम्दानीको स्रोतको रुपमा उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । विभिन्न प्रजातिका रुख बिरुवासँगै माटो र भूगोल सुहाउँदो फलफुल तथा घाँसपातको खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिने भएकाले पारिवारिक निजीवनलाई कृषिसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
यस्तै फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले पारिवारिक निजी वन भएका प्रत्येक परिवारले आफ्ना लागि आफैं आम्दानीको स्रोत बनाउनेगरी कार्ययोजना बनाएर अघि बढ्न सकिने धारण राख्नुभयो । आम्दानीको स्रोत बनाई पारिवारिक निजी वनमार्फत प्रत्येक सदस्य आत्मनिर्भर बन्न सकिने उपप्रमुख भट्टराईले बताउनुभयो । स्थानीय सरकारको हैसियतले फुङ्लिङ नगरपालिकाले पनि सबैको राय सुझाव लिएर स्थानीय वन ऐन बनाउने उहाँले बताउनुभयो ।
सामूदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले वनलाई आम्दानीको स्रोतका रुपमा उपयोग गर्न सकिने भएकाले सामूदायिक वन, पारिवारिक निजी वन लगायत समान उद्देश्य भएका वनसँग सम्बन्धित संस्थाहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रलाल राईले पनि वनसँग सम्बन्धित विभिन्न ऐनको व्यवस्था रहेपनि अझै अपुग भएको बताउनुभयो ।
सहायक वन अधिकृत राईले कतिपय वनका लागि कानुनी जटिलता रहेकाले व्यवहारिक कानुनको आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले पारिवारिक निजी वन आर्थिक उर्पाजनको बलियो स्रोत बन्ने प्रशस्त आधार भए पनि केही कानुनी व्यवस्थाको अभाव र यसको आवश्यक उपयोग हुन नसकेको बताउनुभयो । अलैँची, अम्लिसो, अदुवाजस्ता कृषिजन्य उत्पादन यसैभित्र हुने भएकाले पारिवारिक निजी वनलाई कृषिसँग जोडेर गएमा प्रयाप्त उपलब्धी हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
अन्तक्र्रियामा जिल्ला सहकारी सङ्घका अध्यक्ष टामन सिग्देल, अलैँची जोन परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङका संयोजक दिनेश अधिकारी, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाक (प्रयास) लगायतका सरोकारवालाले पारिवारिक निजी वन र यसमार्फत आत्मर्निभर बन्न सकिने उपायको बारे धारणा राखेका थिए । कार्यक्रम पारिवारिक निजीवन सङ्घका जिल्ला अध्यक्ष इन्द्रबहादुर गुरुङ अध्यक्षता तथा सचिव बसन्त पालुङ्वाको सञ्चालनमा भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts