आउँदो निर्वाचनका लागि ताप्लेजुङमा नयाँ मतदाता निर्णायक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३१ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङमा नयाँ मतदाता निर्णायक हुने देखिएका छन् ।

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भन्दा स्थानीय तहको निर्वाचन २०७९ सम्म आइपुग्दा ११ हजार २ सय ८३ जना मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि असार १ गतेबाट साउन १९ गते सम्ममा यहाँ १ हजार ८० जनाले नाम दर्ता गराएका छन् । यहिँ जिल्लामा रहेका र अन्यत्र क्षेत्रबाट मतदान गर्न पाउने गरी ३ सय ६ जनाले नाम दर्ता गराएको प्रारम्भिक अभिलेख रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन पछि कति मतदाता थपिए भन्ने कुराको प्रारम्भिक चरणको बिबरण भदौ ७ गते सम्ममा आउन सक्ने जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताउनुभयो । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ७८ हजार ३ सय ९७ मतदाता थिए । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सम्ममा ८९ हजार ६ सय ८० मतदाता कायम भएका छन् ।

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनमार्फत चुनावी समीकरणमा उत्रिँदा नेपाली काँग्रेसले एक्लै चुनाव लडेको थियो । प्रतिनिधिको १ तथा प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेको यहाँ उतिबेला प्रत्यक्षतर्फ बाम गठबन्धनका सबै उम्मेदवार बिजयी हुनु भएको थियो । २०७४ सालको चुनावी नतिजा अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई २९ हजार ४ सय ७९ मतका साथ बिजयी हुनु भएको थियो । उहाँका निकटतम् प्रतिद्धन्दी काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत ल्याउनु भएको थियो । दाहाल पछिको सबैभन्दा बढी मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णुकुमार लिम्बूले ल्याउनु भएको थियो । उहाँले १ हजार ५ सय ९१ मत ल्याउँदा संघीय समाजवादी फोरमका धनकुमार लिम्बूले ३ सय ९५,नयाँ शक्ति पार्टीका चन्द्रकुमार साँवाले ३ सय ८६,राष्ट्रिय जनमुक्ति पार्टीका आइतराज मावोहाङ लिम्बूले ३ सय २३ र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)का डिल्लीराम बिष्टले २ सय ४१ मत ल्याउनु भएको थियो । उता प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेको २० हजार ७ सय ४०,काँग्रेसको १४ हजार ७ सय ९९,माओवादीको ६ हजार ३ सय ४१ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको २ हजार ९ मत रहेको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी सहितको गठबन्धको भोट रहेको एमाले उम्मेदवार र काँग्रेस उम्मेदवारबीच साढे १२ हजार बढी मतान्तर रहेको समानुपातितर्फ भने काँग्रेस भन्दा एमालेले ५ हजार ९ सय ४१ मत बढी ल्याएको छ । प्रतिनिधिसभाकै समानुपातितर्फ ६ हजार ३ सय ४१ मत ल्याएको माओवादी र काँग्रेसको समानुपातिक मत जोड्ने हो भने १२ हजार २ सय ८२ हुने देखिन्छ । जबकी प्रत्यक्षतर्फ एमाले उम्मेदवार भट्टराई १२ हजार ५ सय ९१ मतान्तरले बिजयी हुनु भएको थियो । गठबन्धनको रुप फेरिएको अहिलेको अवस्थामा यहिँ तथ्यले पनि नयाँ मतदाता‘निर्णायक’हुने देखाउँछ ।


उता, प्रदेशसभा१(क)मा प्रत्यक्षतर्फ बाम गठबन्धनका एमाले उम्मेदवार बलबहादुर साम्सोहाङले काँग्रेस उम्मेदवार लिलादेवी बोखिमलाई हराउनु भएको थियो । साम्सोहाङले १५ हजार ४ सय १७ मत ल्याउँदा बोखिमले १० हजार ९ सय ७४ मत ल्याउनु भएको थियो । उतिबेला प्रत्यक्षतर्फ काँग्रेसपछि सबैभन्दा बढी मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिवी खुदाङले ल्याउनु भएको थियो । उहाँले ८ सय ६१ मत ल्याउँदा नयाँ शक्तिका मानबहादुर गुरुङले २ सय ६७,संघीय समाजवादी फोरमका भक्तबहादुर ऐङदेनले १ सय ५८,जनमुक्तिा पार्टीका बलबहादुर लिम्बूले १ सय २२ र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)का गायत्रीप्रसाद थेबेले ८४ मत ल्याउनु भएको थियो ।

प्रत्यक्षतर्फ काँग्रेस र बाम गठबन्धन उम्मेदारबीच ४ हजार ४ सय ४३ मतान्तर रहेको उतिबेलाको समानुपातिकतर्फ एमालेले १० हजार ८ सय ११,काँग्रेसले ७ हजार ४ सय ५८,माओवादी केन्द्रले ३ हजार ४ सय ४१,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ७ सय ५६,नयाँ शक्ति पार्टीले ५ सय २२ र संघीय समाजवादी फोरमले ३ सय ३८ मत ल्याएका थिए । समानुपातिकतर्फ अहिले गठबन्धनमा सामेल हुने प्रमुख दुईदल काँग्रेस र माओवादी केन्द्र दुबै जोड्ने हो भने १० हजार ८ सय ९९ हुन आउँछ । एमाले एक्लैले प्रदेशसभातर्फ १० हजार ८ सय ११ मत ल्याएको थियो । ठूलो मतान्तर नदेखिएको यहाँ पनि नयाँ मतदाताको मत प्रकट निर्णायक हुने देखिएको छ ।

उता,प्रदेशसभा १(ख)मा बाम गठबन्धनका माओवादी उम्मेदवार टंक आङबुहाङ १२ हजार १ सय ९८ मत ल्याएर बिजयी हुनु भएको थियो । माओवादी छाडेर एमालेका लाग्नु भएका अहिले उहाँ एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । सो बेला काँग्रेस उम्मेदवार दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८३ मत ल्याउनुभयो । उहाँपछि सबैभन्दा बढी मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बूले ल्याउनु भएको थियो । मुक्सामले ६ सय ९६ मत ल्याउँदा जन समाजवादी पार्टी नेपालका कृष्णबहादुर लिम्बूले ३ सय ६१,संघीय समाजवादी फोरम नेपालका सुखवीर लिम्बूले २ सय ३८,जनमुक्ति पार्टीका यामकुमार आङबुहाङले २ सय २२,नयाँ शक्ति पार्टीका बिशाल लिम्बूले १ सय ६ र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)का सपना सामेखामले ८३ मत ल्याउनु भएको थियो ।

प्रदेशसभा १(ख)कै समानुपातिकतर्फ एमालेले ८ हजार ३ सय ८,काँग्रेसले ६ हजार १ सय ५५,माओवादीले २ हजार ८ सय ९७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ सय ५३,जनमुक्ति पार्टीले २ सय ७१ र संघीय समाजवादी फोरमले १ सय ८४ मत ल्याएका थिए । बाम गठबन्धन र काँग्रेस उम्मेदवारबीच प्रत्यक्षतर्फ ४ हजार ६ सय ११ मतको अन्तर रहेकोमा अहिले गठबन्धनमा रहेका काँग्रेस र माओवादीको समानुपातिकतर्फ प्राप्त मत जोड्दा ९ हजार ९३ मत हुन आउँछ । जबकी एमाले एक्लैले प्राप्त गरेको समानुपातिकतर्फको मत ८ हजार ८ सय ३ रहेको छ । यो ज्यादै प्रतिश्पर्धात्मक मत हो ।

एमाले बिभाजन समेत भएको तथा स्थानीय चुनाव पछि एमाले,काँग्रेस,माओवादी केन्द्र तीनैवटै दलमा देखिएको आन्तरिक टकरावमा सग्लोपन नआएको अवस्थाका बीच गठबन्धनको अर्को शक्ति जनता समाजवादी पार्टी पनि अलग–अलग भएको छ । यो बेला यहाँ गठबन्धनको स्वरुप कस्तो हुन्छ र दलहरुको आन्तरिक अन्तरबिरोधले मतलाइ कसरी प्रभाव पार्छ एकिन छैन । यि सबै अवस्थाले नयाँ मतदाताको मत दिने निर्णय जीतहारका लागि निर्णायक हुने देखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts