|

नेपाल नेत्र ज्योति संघको ताप्लेजुङ शाखा देशभरीमै उत्कृष्ट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । नेपाल नेत्र ज्योति संघको ताप्लेजुङ शाखा देशभरीकै उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ ।

संघको उद्देश्य परिपूर्तिमा उल्लेख्य योगदान दिएको भन्दै नेत्र ज्योति संघ केन्द्रीय समितिले संघको ताप्लेजुङ शाखालाइ नगद ३० हजार सहित पुरस्कृत गरेको हो । कास्कीको पोखरामा आयोजित एक कार्यक्रमकाबीच नेत्र ज्योति संघलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलले जानकारी दिनुभयो ।

ताप्लेजुङका बिभिन्न स्थानीय तहसंगको समन्वय तथा सेवा फाउण्डेसन र देशका बिभिन्न आँखा अस्पतालसंग प्राविधिक सहयोग लिएर आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखालाई यस्तो रचनात्मक कार्यमा दृढपूर्वक स्वयंसेवी भूमिका निर्वाह गरेको भन्दै नेत्र ज्योति संघको केन्द्रीय समितिले पुरस्कृत गरेको हो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाद्धारा फुङ्लिङ बजारमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले आँखा स्वास्थ्य क्षेत्रमा नेत्र ज्योति संघ ताप्लेजुङ शाखाको सक्रियता,लगाव र मेहनेतले सम्मान पाएको बताउनुभयो । उहाँका अनुसार नेत्र ज्योति संघ ताप्लेजुङ शाखामार्फत मेरिङ्देन र आठराइ त्रिबेणी गाउँपालिकाको लागत साझेदारीमा दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । यस्तै पाँचथरको कुम्मायक गाउँपालिकाको सहयोगमा पालिका केन्द्र यासोक बजारमा समेत आँखा उपचार केन्द्र खुलेको छ भने पाँचथरको याङ्वरक गाउँपालिकाको केन्द्र थर्पु बजारमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

ताप्लेजुङको फुङ्लिङमा करिव २४ बर्ष देखि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमार्फत आँखाको रोगीहरुको परीक्षण तथा उपचार भइरहेको छ । नेत्र ज्योति संघले यहिँ चैत तेस्रो सातामा ताप्लेजुङको पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाको आर्थिक साझेदारीमा शल्यकृया सहितको शिविर सम्पन्न गरेको छ । अब नेत्र ज्योति संघकै अगुवाइमा केहि समय भित्रै फुङ्लिङ बजारमा मासिक रुपमा कम्तिमा ३ दिन शल्यकृया सहितको उपचार सेवा प्रारम्भ गर्ने तयारी भइरहेको नेत्र ज्योति संघले जनाएको छ ।

आँखाको परीक्षण तथा उपचार भएपनि फुङलिङ बजार सहितका उपचार केन्द्रहरुमा नियमित रुपमा शल्यकृया सहितको सेवा हुने गरेको छैन । शल्यकृया सहितको आँखा स्वास्थ्य उपचारका लागि भने अर्धबार्षिक रुपमा सञ्चालन हुने शिविर नै पर्खनुपर्ने बाध्यता छ । त्यो बाध्यता हटाउन अब फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमार्फत मासिक रुपमा शल्यकृया सहितको सेवा प्रारम्भ गर्ने नेत्र ज्योति संघको तयारी रहेको छ । त्यसका लागि संघले सुनसरीको ईटहरीस्थित ईटहरी आँखा अस्पतालसंग प्राविधिक सहयोग लिने भएको छ । ईटहरी आँखा अस्पताल सेवा फाउण्डेसनको सहयोगमा नेत्र ज्योति संघमार्फत सञ्चालनमा रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts