कमल (अकिञ्चन) जीको सम्पत्ति पढेपछि
–पुण्यप्रसाद खरेल
रवि नपुगेका कुना काप्चाहरुमा,
किरण बनेर पुग्ने
बादशाह, जार
अमिन, हिटलर
आदि आदि
भष्मपारी जलाउन सक्ने
मेरो कलम ! कति शक्तिशाली छ !
…मेरो कलम
यस्ता कविता लेख्ने कवि कमल (अकिञ्चन्) तत्कालीन दोखू–९, हाल फुङलिङ नगरपालिका–७ ताप्लेजुङमा बुबा कृष्णप्रसाद भट्टराई तथा आमा भागिरथा भट्टराईको सुपुत्रको रूपमा वि.सं.२०२५ मङ्सिर ३ गते जन्मिएका हुन् । उनी गाउँकै विद्यालय–महाविद्यालयहरुमा डिप्लोमा सम्मको अध्ययन गरेका र २०४५ सालदेखि प्राथमिक विद्यालयमा शिक्षण सुरु गरी हालसम्म अध्यापनरत शिक्षक हुन् । चालिसको दशकको सुरुतिरबाटै कविता लेख्न सुरु गरेका यी कविले अलिक साहित्यिक वातावरण पाएका भए साहित्यिक सङ्गत पाएका भए निक्कै धारिला कवि बन्न सक्थे । न साहित्यिक गोष्ठीहरु देख्न पाउनु, न ति विद्यालयीय पाठ्यक्रम बाहेकका साहित्यिक पठन सामग्री नै पढ्न पाउनु ? मुलुकको दुर्गम जिल्लाको दुर्गम गाउँमा प्राथमिक शिक्षकको जीवन गुजार्न विवश निम्न वर्गीय व्यक्तिले रहरै–रहरमा लेखेका कविताहरुको सँगालो हो यो सम्पत्ति ।
मलाई सम्झना छ, म पञ्चायती व्यवस्थाको पतनपछि २०४७ साल भदौमा साविक पद शिक्षकमा पुनर्वहाली भई ताप्लेजुङको सदरमुकामको विद्यालयमा पठनपाठन गर्न थालें । त्यहाँ ताप्लेजुङ बजार वरपरका साहित्यमा अभिरुचि राख्ने मित्रहरु स्थापित साहित्यकार जगमोहन शाक्य, स्थापित साहित्यकार तथा समालोचक रविमान लमजेल, नवोदित साहित्यिकार खोकलिङ निवासी चित्रगुप्त साँबा, स्थानीय माविका नेपाली विषयका शिक्षक कुलप्रसाद भट्टराई, स्थानीय कर्मचारी बाबुराम भट्टराई, स्थानीय क्याम्पसमा प्राध्यापन गर्ने कुलराज निरौला (हाल डा.) आदिसँग साहित्यिक गोष्ठी गर्ने गर्न थाले । यसै व्रmममा कमल जी पनि हामीसँग आठ÷पाँच गोष्ठीमा सामेल हुन थाले । उनलाई नियमित सहभागी हुन धेरै अप्ठेराहरु थिए, किनभने उनको विद्यालय टाढा र दुर्गम गाउँमा थियो । तै पनि ‘खाने मुखलाई जुँगाले छेक्तैन’ भने झैं वडो सङ्घर्षले उनले गोष्ठीमा सामेल हुन कोसिस गरिरहे । हामीले त्यो गोष्ठीमा आफूखुसी लेखिएका कविता त वाचन गथ्र्यौं–गथ्र्यौं, शीर्षक दिएर कविता लेखेर ल्याउने परिपाटी पनि बनाएका थियौं । सबै सहभागीले एउटै शीर्षकमा कविता लेखेर सुनाउने गथ्र्यौं । कमलजीले पनि हामी सँगसँगै यात्रा गरे निकै समय । कमलजीको यो कविता सङ्ग्रहको सृजनामा त्यस बेलाका साहित्यिक गोष्ठीको निक्कै योगदान छ ।
त्यतिबेला हाम्रा ती गोष्ठीलाई अमर बनाउन हामीले ताप्लेजुङकै जनसेवा प्रिन्टिङ प्रेसमा मुद्रण गरेर ‘सँगालिएका प्रतिबिम्बहरु’ नामक कविता सङ्ग्रह प्रकाशन पनि ग¥यौं । त्यस सङ्ग्रहमा यी कविका ‘मैले त ढाँटें’, ‘सम्पत्ति’, ‘आउँदो वर्ष’, ‘मेरो कलम’, ‘मेरो कर्तव्य’, ‘ढाव्रmे’ जस्ता कविता छापिएका छन् । ती सबैजसो कविता यस सङ्ग्रहमा पनि परेका रहेछन् । ‘मैले त ढाँटें’ र ‘मेरो कलम’ पहिला नै शीर्षक दिएर लेखिएका कविता हुन् भन्ने मलाई सम्झना छ । किनभने ती शीर्षकमा लेखिएका मेरा कविता पनि मेरा डायरीका पानामा अद्यापि छन् ।
कवि कमल ‘अकिञ्चन्’ आफूलाई प्रगतिवादी मानेर त्यही कोणबाट कविता लेख्छन् । उनका कवितामा उत्ताउलो प्रेमका, निरासावादी रूपका, अन्धविश्वासलाई मलजल गर्ने किसिमका या ईश्वरवादी, भाग्य–कर्ममाथि विश्वास गर्ने किसिमका कुरा पाइँदैनन् । श्रमजीवी नेपाली जनता आफू ठाडो पिठ्यूँ पार्न नपाइकन सम्पूर्ण जीवन पसिनामा डुबिरहँदा पनि एक पेट खान र एक आङ लगाउन ढुक्कले नपाएको यथार्थ अवस्थासँग कवि जानकार छन् । शिक्षा र स्वास्थ्य जस्ता मानवका आधारभूत आवश्यकता सधैं नेपाली जनताका लागि अक्करमा रहेको कुरा पनि बुझेका छन् र अझ राम्ररी बुझेका छन् जहानियाँ निरङ्कुश शासन चलाई नेपाली जनताको थाप्लामा नाङ्गो नाच नाच्ने राणाहरु र तिनकै उत्तराधिकारी शासकहरु कुनै पनि जनतालाई न्याय दिन चाहँदैनन् । काम अनुसारको दाम पाउने परिपाटी स्थापनाका निम्ति जनताहरुले सङ्गठित भई कठोर सङ्घर्ष गर्नुपर्छ भनेर सबैलाई जागृत गर्न चाहन्छन् कवि । त्यसैले कविका कवितामा सङ्घर्षशील शहीदहरुका, देशभक्ति योद्धाहरुका बिम्बहरु आउँछन् दोहोरिई–दोहोरिइकन । कवि देशभक्त र राष्ट्रवादी छन् । त्यसैले उनका कवितामा देशभक्त बिम्बहरु भीमसेन थापा, लखन थापा, बलभद्र कुँवर जस्ता बिम्ब कवितामा धेरैचोटि दोहोरिएर आएका छन् । लामो समय कविता लेखनमा लागेका, साहित्यको अध्ययन र लेखनमा अदम्य रुचि राख्ने कमल (अकिञ्चन्) जी कविता सङ्ग्रह लिएर नेपाली साहित्यमा एउटा इँटा थप्न लागेका छन् । यो औधि खुसीको कुरा हो । म उहाँलाई अन्तर हृदयबाट बधाइ भन्छु ।
धेरैले प्रगतिवादी साहित्यकारलाई अर्को धुरीका साहित्यकारहरु तथा समालोचकहरु कलापक्षमा कमजोर भएका सृजना दिने भनेर आरोप लाउने गर्छन् । यो आरोप कमल (अकिञ्चन) जीका कवितालाई पनि लाग्न सक्छ । कहाँ हाम्रा कविता अहिले नै गोपालप्रसाद रिमालका जस्ता, भूपि शेरचनका जस्ता, कुन्ता शर्माका जस्ता भै हाल्छन् र ! अहिले विनोदविव्रmम केसी, सरीता तिवारी जस्ता नयाँ कविहरुको बथान देखा परेको छ खुकुरी भन्दा कर्द लाग्ने भएर । तर उहाँहरुले पाएको परिवेश र हाम्रा कमल (अकिञ्चन) जीले पाएको परिवेश तुलना गरौं त ! यो परिवेशमा यदि ती कविहरु हुँदा हुन् त ! म यस बेला फेरि पनि महाकवि देवकोटाको ‘के नेपाल सानो छ ?’ का केही वाक्यहरु सम्झन पुग्छु । ती वाक्यहरु भन्छन्– “यहाँ वाग्नर कोदालो खनिरहेछन्, शेक्सपियर हलो जोत्ता हुन् ! टिसीयन र टर्नर भेडा चराउँदा हुन्, सोव्रmेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास असारको १५ मा धाराप्रवाह गीत गाइरहेका होलान्, म कहाँ साण्डोले दाउराका भारी बोकेर आउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँछन् ।” मलाई साँच्चै लाग्छ कमल (अकिञ्चन) जी ‘हलो जोत्दै गरेका शेक्सपियर’ हुन् ।
कविले कविता लेख्न र सुनाउन लागेको त्यो बेलादेखि अहिले सम्मको समयको अन्तराल विचार गर्दा त उहाँका दर्जनौं कृति निस्किसकेको हुनुपर्ने समय हो । तर अघिमाथि नै भनियो परिस्थिति र परिवेशको वाध्यताको कुरा ।
यति भैकन पनि कविका कविता कमका छैनन् । उनको ‘मैले त ढाँटें’ शीर्षकको कविता छ एउटा विवश नेपाली अभिभावकको । आफ्ना श्रीमती, छोराछोरीलाई यो गर्छु र ऊ गर्छु भन्छन्, यस्तो थोक ल्याउँछु र उस्तो थोक ल्याउँछु भन्छन्, वाचा गर्छन् तर ल्याउन सक्तैनन् । बाध्यताले तिनका नजरमा ढाँट बन्न पुग्छन् । लोहोरो उसिन्न बसाएर ‘पाकेपछि गिलो हुन्छ, छाम्नु र निकालेर खानू !’ भन्दै छोराछोरीलाई अराएर काममा जाने आमाको हविगत सम्झौं त !
राम्रा राम्रा नाना दिउँला
मिठामिठा फलफूल दिउँला
सुख सयल र ऐस दिउँला
पटक पटक लोभ्याएँ
जेजे माग्छौ त्यही त्यही दिउँला भनेर
मैले धेरै पटक ढाँटें
…मैले त ढाँटें
यस्तै ‘दसैं’ शीर्षकको कवितामा कवि नेपाली श्रमजीवी जनताको स्थिति सम्झन्छन् । हाम्रा चाडवाड कति व्यथित बित्छन् ! कतिका चेली बम्बइमा छन्, कतिका बलात्कृत मारिएका छन्, छोराहरु खाडीमा, कोरीयामा, मलेसियाको जङ्गलमा छन् । कसैका छोरा बाकसमा बन्द भएर फर्किन्छन् । घर कोकोहोलो मच्चाइरहेको हुन्छ दसैंमा । यसरी असह्य पीडासँग आउने गरेको दसैंलाई सम्झँदै यसपल्ट भने कवि विगतभन्दा फरक भएर, उज्यालो लिएर, रमाइलो लिएर आउँछ भनेर पर्खिरहेको कुरा लेख्छन् ।
कवि कवितामा आफ्नै गाउँठाउँका बिम्बहरुको प्रयोग गर्छन्
थुम्की र गैरीमा वास बस्तै
लामीबगर, लामपोखरीमा लम्कँदै
बिपनामा पुग्न हतारिइरहेछन् ।
…श्रद्धाञ्जलि
माओवादी द्वन्द्व काललाई कवि त्यति मन पराउँदैनन् । माओवादी जनयुद्धबाट थिल्थिलो भएको समाज देखेर रक्तपात र हिंसा मच्चिएर जनता दुई बन्दुकको चेपमा परेका देखेर बडो दुःखित छन् ।
तिमी एक पटक ऐना हेर त
तिम्रो आकृति कस्तो भएछ !
अनुहारमा रगतका दाग
रातै मुख र हातहरु
लुगाभरि रगतका टाटा छन् ।
…म भन्दै थिएँ
यस सङ्ग्रहको पहिलो कविता ‘यहाँ यस्तै हुन्छ’ धेरै राम्रो छ । यो कविता पहिलो जनआन्दोलनपूर्व २०४४ सालमै कविले रचेका हुन् । नेपाली जनताले जुनै पनि आसलाग्दा नेताहरु, आन्दोलनहरु देख्थे ती मारिन्थे, दबाइन्थे भन्ने कुराले यस कवितामा कवि धेरै व्यथित बनेका छन् ।
जब मिर्मिरे हुन लाग्छ यहाँ
पूर्वमा बादल देखापरि हाल्छ
यहाँ यस्तै हुन्छ ।
….यहाँ यस्तै हुन्छ
कवि बीसौं वर्षदेखिको जनताले भोग्नु परेको अन्याय र शोषणको एकोहोरो पीडाबाट दिक्क भएका छन् । उनी यी एकोहोरो अन्यायका पहाडहरु पल्टाउन चाहन्छन्, सम्पूर्ण बन्धुबान्धव, चेलीबेटीहरु समानतापूर्ण समाजमा बाँच्न चाहन्छन् र वर्तमानको अन्यायपूर्ण व्यवस्था परिवर्तन गर्न एउटा विश्वस्त आन्दोलन चाहिएको देख्छन् ।
यहाँ एउटा विश्वास चाहिएको छ
काँधमा काँध मिलाएर
निश्चित लक्ष्यमा पुग्ने यात्री चाहिएको छ
त्यो अभिमानलाई ढाल्ने
साहसी, धैर्यवान र उद्यमी
असल योद्धा चाहिएको छ ।
,,,चाहिएको छ
यसरी कविले आफू सर्वथा न्यायपूर्ण र समानतापूर्ण समाजमा बाँच्न चाहेकोले त्यस्तो समाज निर्माणका निम्ति कामना गर्दै कविता लेख्छन् । यस सङ्ग्रहका कविता सबैजसो विचार प्रधान छन् । कलात्मक पक्ष अलिक कमजोर छ । प्रायः एउटा विचारमा आवद्ध भएर उद्देश्यपूर्ण कविता लेख्ता सामान्यतया यस्तो हुन पुग्ने नै गर्छ । हामी ‘कला कलाको लागि’ भनेर ‘स्वान्त सुखायः’ भन्दै कविता लेख्ने होइनौं । त्यसकारण साहित्यलाई औषधी ठानेर कविता रच्नेहरुले रचेका कविता कलाको पक्षमा त्यति सबल नहुन सक्छन् । त्यो यस कविता सङ्ग्रहको सीमा बनेकोमा त्यति अप्ठ्यारो मान्नु पर्दैन ।
कवि गीत लेख्न पनि रुचाउँछन् । यही सङ्ग्रहको पछिल्लो खण्डमा निकै वटा गीत पनि कविले राखेका छन् । गीत लेख्नका लागि कवि सङ्गीतको पनि ज्ञान हुँदा अलिक खँदिला गीत बन्दछन् । सङ्गीतको ज्ञान नभएमा गीत भन्दा कविले कविता सृजनामै बढी समय खर्चनु राम्रो हुन्छ भन्ने म ठान्दछु ।
ताप्लेजुङ अब त सुगम भएकै जतिको छ । अब त इन्टरनेट र इमेल तथा बिभिन्न सामाजिक सञ्जालले केन्द्र जतिकै मोफसललाई पनि बनाएको छ । तर पनि ताप्लेजुङले झापासँग, झापाले काठमाडौंसँग सिङ जोड्न कहाँ सक्थ्यो र ! तै पनि ‘किम् दूरम् व्यवसायीनाम्’ भने झैं निरन्तर प्रयत्नशील भैरह्यो भने, चूडामणि रेग्मी ‘धुनमा घुन’ निबन्धमा भन्नुहुन्छ– “मेरा एक जना गाउँका बाले हरिया गैंडा थुपार्ने धुनमा सियो, फाली, दाना, घ्यू सबको बेपार गरे, लुगा लाएनन्, खाएनन्, जहानलाई लाउन खान दिएनन्, हुँदाहुँदा उनी लखपति भई छाडे । धुनमा घुन लाग्न नदिनेले केही गरेर छाड्छन्, … धुन साँच्चै आठौं आश्चर्य हो ।” यसरी कवि बन्ने धुनमा लागेपछि मान्छे सफल कवि बन्छ बन्छ । त्यसकारण म कमल (अकिञ्चन्) ज्यूलाई त्यही चूडामणि गुरुको मन्त्र दिन्छु । धुनमा घुन लाग्न नदिनुहोस् ! यस कविता सङ्ग्रहको जगमा अर्को अझ राम्रो कविता साहित्यिक कृति चाँडै पढ्न पाइयोस् !
–अर्जुनधारा ११, नयाँ बस पार्क
सम्पर्क : ९८५२६६२३३३