ताप्लेजुङमै पहिलोपटक हाङ्पाङमा कुपोषित बालबच्चाको पहिचान तथा उपचार कक्ष स्थापना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १२ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङका ३१ बर्षिय शान्तिराम बराइली आफ्नो १४ महिने छोरा च्यापेर हाङ्पाङ स्वास्थ्य चौकी पुग्नुभयो । जन्मदा ३ किलोग्राम वजन भएका उहाँका छोरा सायल १४ महिना पार गर्दा ७.४ किलोग्राम वजनका हुनुहुन्छ । उहाँ कुपोषणको शिकार भएको आशंकामा परीक्षण गरियो ।‘कुपोषण त भेटियो तर उहाँमा दीर्घ कुपोषण(पुड्को पना)रहेछ’ हाङ्पाङ स्वास्थ्य चौकीका स्वास्थ्य शाखा प्रमुख समिर प्रधानले भन्नुभयो । हाङ्पाङकै २२ महिनाका आशिर बराइलीको उचाइ ७५ सेन्टिमिटर र वजन ८.२ किलोग्राम छ । २ बर्ष पूरा हुनु भएकी यसोदा बराइली ८०.५ सेन्टीमिटर उचाइकी हुनुहुन्छ । उहाँको वजन ९.९ किलोग्राम रहेको छ । यि दुबै बच्चाहरुमा मध्यम शीघ्र कुपोषण पाइयो । अब उहाँहरुलाइ तयारी अवस्थाको भिटामिनयुक्त खाना(आरयुटिएफ)दिएर स्वास्थ्यकर्मीहरुले नियमित निगारानी गर्नुहुने छ ।

बालबच्चाहरुमा कुपोषणको अवस्था पत्ता लगाइ समयमै परीक्षण तथा उपचारका लागि अहिले ताप्लेजुङमा अभियान सुरु भएको छ । त्यहिँ अभियान अन्र्तगत ताप्लेजुङमै पहिलो पटक आठराइ त्रिबेणी गाउँपालिकाको स्वास्थ्य संस्थामा ६ देखि ५९ महिना सम्मका कडा शीघ्र कुपोषित र मध्यम शीघ्र कुपोषित बालबालिकाहरुका लागि उपचार कक्ष(ओटिसी)स्थापना भएको छ । उपचार कक्ष शुभारम्भ गर्दै हाङ्पाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा नं ३ का वडाध्यक्ष देवीप्रसाद खरेलले उपचार कक्षबाट अधिकतम् लाभ लिनका लागि लक्षित उमेर समूहका बालबालिकाका अभिभावकहरुलाइ आग्रह गर्नु भएको छ । उमेर र वजन अनुसारको तौल अस्वभाविक लागेको अवस्थामा त्यहाँ परीक्षण र उपचार गरिन्छ भन्ने सन्देश सबै अभिभावक समक्ष पु¥याउन स्थानीय जनप्रतिनिधि,समाजका अगुवा,शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । सरकारको आफ्नै कार्यक्रम भएपनि यो अभियानमा पोषण तथा स्वास्थ्य सुरक्षा नेपाल,सुआहारा कार्यक्रमले सहयोग गरेको छ । सुआहारा कार्यक्रमका पोषण कार्यक्रम निर्देशक भीमकुमारी पुनका अनुसार बालबालिकाहरुलाइ कुपोषणको मारबाट बचाउन अभियान प्रारम्भ गरिएको हो ।

देशैभरका पालिकाहरुमा रहेका स्वास्थ्य संस्थामार्फत सञ्चालनमा आउने यो अभियान ताप्लेजुङमा पनि प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो ।‘नेपाल सरकार,प्रदेश सरकार र स्थानीय सरकारको अगुवाइमा सुरु भएको यो अभियानमा हाम्रो प्राविधिक सहयोग रहने छ’,सुआहारा कार्यक्रमका पोषण सल्लाहकार राज मण्डलले भन्नुभयो । उहाँले अभियानको व्यवस्थाकीय कार्यको अगुवाइ स्थानीय सरकार र सम्वधित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको भूमिका बलियो हुने बताउनुभयो । सुआहारा कार्यक्रमका प्रदेश १ संयोजक सुवास गौतमका अनुसार कुपोषित अवस्थाका बालबच्चाहरुको प्रारम्भिक पहिचान सम्वन्धित क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्नुहुने छ । त्यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ तालिम प्रदान गरिने छ । तालिम पछि कुपोषित अवस्थाका बालबच्चाको पहिचान गर्ने र सुनिश्चिताका लागि ओटिसी सेन्टरमा सिफारिस गर्ने दायित्व महिला स्वास्थ्य स्वयंसेविकाको हुने छ ।

ओटिसी सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरुले सिफारिस गरेका बालबच्चाहरुमा कुपोषित अवस्थाका हुन् वा होइनन् भनेर यकिन गर्नुहुने छ । यकिनका क्रममा कडा शीघ्र कुपोषित र मध्यम शीघ्र कुपोषितनै भएको अवस्थामा उहाँहरुलाइ भर्ना गरी थप परीक्षण र उपचार प्रकृया सुरु हुन्छ । यो क्रममा ओटिसी सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले १६ वटा चरणको उपचारात्मक पद्धति अपनाउने सुआहारा कार्यक्रमका पोषण स्वास्थ्य अधिकृत जगदीश दासले बताउनुभयो । यसमा चिनीपानी खुवाउने देखि लिएर बच्चाको वजन र उचाइ मापन,अभिलेख व्यवस्थापन सहितका प्रकृया हुने छन् । परीक्षणका क्रममा निलो रंगको चिन्ह देखिए सामान्य,पहेंलो देखिए मध्यम शीघ्र र रातो देखिए कडा शीघ्र कुपोषित अवस्थाका बालबच्चा भनेर यकिन हुने छ । यहिँ परीक्षणका आधारमा उपचार औषधि समेतको प्रवन्ध हुने पोषण सहजकर्ताहरुले जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts