|

फुङ्लिङमा ‘पालाम’बृतचित्रको बिमोचन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी

ताप्लेजुङ,माघ १ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बिमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले तयार पारेको पालामको प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले बिमोचन गर्नुभयो । १८ मिनेट लामो पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ ।‘शिर उठाइ डुली हिड्दा,धर्ती माथि घुमी हिड्दा’भन्ने शब्दबाट सुरु भएको पालामका अधिकाँस सेरहरु प्रेमिल भावमा बगेका छन् । ‘पृथ्वी माथि घुमी हिड्दा,प्रेमको पर्दा खोली हेर्दा’यो शब्दले गीतबाटै प्रेमीप्रेमिकाको साइनो जोड्न खोजेको छ । कथाका पात्र र बिषय काल्पनिक बनाएर तयार पारिएको पालममा‘फुलजस्तो जोवन फुलेछौ नी,प्रेममा सुहाउँदो भए छौ नी’प्रेमीले प्रेमिकालाइ यसरी जिस्क्याएका छन् । प्रेम बराबर हुने तर्क गरिएको पालाममा राजा नापिने ढुङ्गामा पुगेर प्रेमी प्रेमिकाले आफ्नो उचाइ ग्रहण गरेर प्रेमलाइ तराजुमा जोख्न नहुने अडान कसिएको छ ।‘बलेसी पानी तत्प खस्यो,भन्नलाइ बात ठ्याक्क बस्यो’अन्तिम सेरमा यसो भन्दै पालामको बिट मारिएको छ । माङ्गेना अनलाइन टिभीका प्रोपाइटर भक्त पालुङ्वा र कौशिला चोङ्वाङको मुख्य अभिनय रहेको पालामको अधिकाँस दृश्य दोभानमा पुसेमेलाका क्रममा कैंद गरिएको छ ।

धनुषकाँड र बिनायोको प्रयोग देखि ऐतिहासिक मानिएको राजा नापिने ढुङ्गा सम्म पालामको कथाभित्र समेटिएका छन् । विषेशगरी सोल्टी–सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातीको बिषेशता हो । विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलाहरुमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ । यो नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो । सुखदुःखको समयमा साईनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै अघि पछि सर्दै मुन्धुमको यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो । मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धाननाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ । बिमोचन कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष कर्णबहादुर पालुङ्वा,किराँत याक्थुङ चुम्लुङका प्रदेश सदस्य मोति पालुङ्वा,फुङ्लिङ वडा नं ५ का वडासदस्य सुरेश सिंघक लगायतको उपस्थिति रहेको थियो । पालामको छायाँङ्कन र प्र्रस्तुति बारे वडासदस्य सिंघक,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,सामाजिक कार्यकर्ता अस्मिता साँवा लगायतले प्रकाश पार्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts