तोक्मे,तेल्लोक र ढुङ्गेसाँघुमा कोरोना बिरुद्ध नियमित खोप अभियान चलाउन अघि सारियो अवधारणा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २२ । कोरोना बिरुद्धको खोप लगाउने कार्यलाइ थप प्रभावकारी बनाउन ताप्लेजुङमा दुई प्राथमिक स्वास्थ्य केन्द्र र फुङ्लिङ नगरपालिकाको तोक्मे क्षेत्रमा साप्ताहिक खोप केन्द्र सञ्चालनको अवधारणा अघि सारिएको छ ।
बिहीबार बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक र प्राथमिक स्वास्थ्य केन्द्र ढुङ्गेसाँघुमा साप्ताहिक रुपमा कोरोना बिरुद्धको खोप लगाउने वातावरण सृजनाका लागि क्रमशः सिरिजंगा र मैवाखोला गाउँपालिकालाइ अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार हरेक साताको शनिवार तोक्मेडाँडा क्षेत्रमा कोरोना बिरुद्धको खोप लगाउने कार्यको सहजीकरणका लागि फुङ्लिङ नगरपालिकालाइ अनुरोध गरिएको छ । कोरोना बिरुद्धको खोप पर्याप्त भएर पनि लगाउन आनाकानी गरिरहेकाको अनुमानित तथ्याङ्क संकलन र खोप अभियान प्रभावकारी बनाउने थप योजना तय गर्न आउँदो माघ ५ गते स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरुसंगको समन्वय बैठक समेत गर्ने निर्णय भएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले कोरोना बिरुद्धको खोप लगाउन छुट भएकाहरुलाइ यथाशीघ्र खोप लगाउन र खोप लगाउने कार्यमा प्रोत्साहित गर्ने वातावरणका लागि क्रियाशिल राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिहरुलाइ अनुरोध गर्नु भएको छ । बैठकमा खोप लगाउन अटेर गर्नेहरु उपर के कस्तो प्रकृया चाल्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो । खोप माग्नु नागरिकको अधिकार भएजस्तै अनिवार्य खोप लगाउनु कर्तव्यको रुपमा रहने भएकोले खोप लगाएर पूर्ण खोपयुक्त जिल्ला बनाउने कार्यमा सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोध गर्नु भएको छ । उहाँले खोप लगाउने कार्य अझ सहज र सरल होस् भन्ने उद्देश्यले ३ स्थानीय तहका पायकपर्ने केन्द्रहरुमार्फत नियमित रुपले खोप अभियान सञ्चालनको अवधारणा अघि सारिएको जानकारी दिनुभयो ।