|

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका साक्षर पालिका घोषित, ९७.६४ प्रतिशत जनसंख्या साक्षर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १७ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकालाइ शनिवार साक्षर गाउँपालिका घोषणा गरिएको छ । जिल्ला शिक्षा समिति प्रमुख एवम् जिल्ला समन्वय समिति प्रमुख प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले साक्षर गाउँपालिका घोषणा गर्नु भएको हो ।

उहाँले साक्षर पालिका घोषणासंगै पालिकाको समग्र विकासको सूचकमा परिवर्तन आउने बिश्वास लिनुभयो । उहाँले अझै पनि निरक्षर रहेका नागरिकलाइ बर्षदिन अगावै साक्षरताको अभियानमा समेट्न आवश्यक नीति र प्रकृया अवलम्बन गरिने बताउनुभयो । स्थानीय तहले आफ्नो पालिका भित्र बसोबास गर्ने १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गर्न सक्ने व्यवस्था रहेको छ । सोहि अनुसार पालिकाले ९७.६४ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गरेको गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले जानकारी दिनुभयो । पालिकाको शिक्षा शाखाका प्राविधिक सहायक अर्जुन श्रेष्ठका अनुसार गाउँपालिका भरी १५ बर्ष देखि ६० बर्ष उमेर समूहका १२ हजार २ सय ८६ जनसंख्या मध्ये अहिले २ सय ९१ जना मात्र निरक्षर रहेका छन् । उहाँले निरक्षरताको प्रतिशत २.३६ मात्र रहेको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वडा नं १ नाङ्खोल्याङमा १५ देखि ६० बर्ष उमेर समूहका ३ हजार ४ सय १२ जनसंख्या मध्ये ९५ जना निरक्षर छन् । वडा नं २ थेचम्बुमा ३ हजार ४७ मध्ये ७८ जना,वडा नं तिरिङ्गेमा १ हजार ५ सय ३० मध्ये ३५ जना,वडा नं ४ डुम्रिसेमा १ हजार ४ सय १४ मध्ये ३५ जना,वडा नं ५ चाक्सिबोटेमा ८ सय २७ मध्ये ५८ जना र वडा नं ६ थुम्बेदिनमा २ हजार ५७ जनामा २५ जना निरक्षर देखिएका छन् । निरक्षर रहेकाहरुलाइ बर्षदिन भित्रै साक्षर बनाउने गरी गाउँपालिकाले योजना तय गरेको समेत शिक्षा अधिकृत तामाङले दिनुभयो । पालिका अन्र्तगत ३६ वटा सामुदायिक र १ वटा संस्थागत बिद्यालय तथा १ वटा सामुदायिक सिकाइ केन्द्र रहेको शिक्षा शाखाले जानकारी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले साक्षर पालिका घोषणाले शिक्षा क्षेत्रको विकासलाइ मात्र नर्दशाउने बताउँदै साक्षरताको विकासले मानव विकास सूचकाङ्कको स्थिति समेत प्रष्ट्याउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिति जिसस प्रमुख मादेनले साक्षर पालिका घोषणा भएकोमा पाथीभरा याङ्वरक गाउँपालिका र पालिकाबासीलाइ बधाइ दिनुभयो । उहाँले साक्षरताको प्रमाणले शिक्षा क्षेत्रमा फड्को मारेको र शिक्षा क्षेत्रको समृद्धिले विकासका आयामहरुमा समेत सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले साक्षरताको बिषय ज्ञान र बौद्धिकतासंग सम्वन्धित हुने बताउनुभयो । उहाँले साक्षरताको अभियानलाइ नियमित र प्रभावकारी बनाउने दायित्व स्थानीय सरकारको हुने भएकोले पालिकाको अग्रसरतामा भएको यो अभियान ताप्लेजुङमा प्रभावकारी नै देखिएको बताउनुभयो । कार्यक्रममा स्थानीय जातजाति तथा भाषा र संस्कृति झल्कने झाँकी तथा नृत्य प्रस्तुत गरिएका थिए । साक्षर नेपाल बर्ष २०७६ को अवधारणापत्र अनुसार स्थानीय तहको अभियान समन्वय समितिको सिफारिसमा बाँकी निरक्षरलाइ आगामी एकबर्ष भित्र साक्षर गराउने प्रतिबद्धता गरी साक्षर भएको संस्थागत निर्णय गरी बिशेष समारोहको आयोजना सहित पूर्ण साक्षर पालिका भएको घोषणा गर्न सकिने छ । यस्तै कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सो तहले साक्षर भएको घोषणा नगरेपनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाइ ‘साक्षर’ भएको मान्यता दिन सकिने भएको छ ।

विगतमा साक्षर घोषणा भएका र हाल सम्म साक्षर घोषणा गर्ने प्रतिवद्धता गरेका जिल्लाहरुका हकमा १५–६० बर्ष उमेर समूहलाइ कायम गरिएको आधारलाइ थयावत् राखी साक्षर घोषणा गरिने र स्थानीय तहबाट ६० बर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाइ साक्षरताको अवसर र नवसाक्षरलाइ निरन्तर सिकाइको अवसर प्रदान गर्नुपर्ने दायित्व स्थानीय तहको हुने भएको छ । साक्षर भन्नाले राष्ट्रभाषा र मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ,आफ्नो र परिवारका सदस्यको नाम,उमेर लेखाइ र पढाइ,मोवाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने,शुन्य देखि नौ सम्मका अंक अक्षर लेखाइ,१ देखि १ सय सम्मको गणना,लेनदेन हरहिसाब रखाइ,सरल चित्र,पोष्टर,साइनर्बोड र ट्राफिक संकेत पढाइ,लेखाइ र बुझाइ,सामुदायिक कार्यक्रममा आफ्नो बिचार सहित सक्रिय सहभागिता देखाउन,घडी हेरेर समय बताउन,भित्ते पात्रो हेरी तिथिमिति बताउन र बैंक भौंचर भराइ र चेक खिचाइका कार्यमा ५० प्रतिशत सक्षमता हासिल गर्न सक्ने व्यक्तिलाइ साक्षरता प्रमाणपत्र दिन सकिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts