|

मैवाखोलामा मंसिर २४ बाट अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै,बिजेताले नगद ३ लाख सहित चाँदी जडित ट्रफी पाउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यहिँ मंसिर २४ गते देखि ३ लाख रुपैंया राशीको प्रथम अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाका प्रवक्ता थर्ककुमार(दिवस)चोङवाङले जानकारी दिनुभयो । उहाँका अनुसार विजेताले नगद ३ लाख रुपैंया सहित १ सय ६० तोला चाँदी जडित तीनबर्षे अध्यक्ष रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेताका लागि नगद १ लाख ५० हजार सहित कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । सेमीफाइनलमा पुग्ने दुई टीमलाई सान्त्वना स्वरुप नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो । प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कारको पनि व्यवस्था गरिएको छ । त्यस्तै वेष्ट प्लेयर अफ द टुर्नामेण्ट बन्नेलाइ नगद दस हजार, वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरका लागि नगद ५ हजार रुपैंया सहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताका लागि ताप्लेजुङ जिल्लाभरका सबै स्थानीय तहलाइ पत्राचार तथा अनुरोध गरिएको समेत उहाँले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका आफैं आयोजक भएकोले फुङ्लिङ नगरपालिका सहित मिक्वाखोला गाउँपालिका,मेरिङ्देन,आठराइ त्रिबेणी,सिदिङ्वा,सिरिजंगा,फक्ताङ्लुङ र पाथीभरा याङ्वरक गाउँपालिकालाइ समेत आमन्त्रण प्रवक्ता चोङ्वाङले बताउनुभयो । उहाँ जिल्ला भलिबल संघका अध्यक्ष समेत हुनुहुन्छ । खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । सहभागी हुने पालिकाले मंसिर २३ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने समेत मैवाखोलाले जनाएको छ । सहभागी हुने अन्तरपालिकालाई यातायात खर्च समेत मैवाखोलाले उपलब्ध गराउने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts