ताप्लेजुङमा झण्डै एक चौथाइ प्रहरी जनशक्ति कम,सवारीको गति नियन्त्रण र ट्राफिकजाम हुन नदिन नागरिकको आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, कात्तिक २६ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा आवश्यक दरबन्दी संख्या भन्दा झण्डै करिव एक चौथाइ प्रहरी जनशक्ति कम रहेको पाइएको छ । सेवा बितरणको प्रभावकारीता मापन तथा सेवाग्राहीहरुको राय तथा परार्मश दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले शुक्रवार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रस्तुत तथ्याङमा सो कुुरा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) बाल नरसिंह राणाका अनुसार ताप्लेजुङमा कूल ४ सय ६६ जना प्रहरी जनशक्तिको दरबन्दी रहेकोमा रुजु हाजिर प्रहरीको संख्या ३ सय ६१ रहेको छ । यो आवश्यक जनशक्ति भन्दा करिव २२ प्रतिशत अर्थात् १ सय ५ ले कम हो । जिल्ला प्रहरी कार्यालयमा २ जना प्रहरी नायव निरीक्षक(सई),६ जना प्रहरी सहायक निरीक्षक(असई),२ जना प्रहरी हवल्दार,७ जना प्रहरी जवान र १ जना प्रकाश तहको गर कूल १८ जनाको पदपूर्ति हुन बाँकी रहेको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा १ जना प्रहरी नायव उपरीक्षक(डिएसपी),३ जना प्रहरी निरीक्षक(इन्सपेक्टर),६ जना प्रहरी नायव निरीक्षक(सई),२३ जना प्रहरी सहायक निरीक्षक(असई),८२ जना प्रहरी हवल्दार,२ सय २९ जना जवान र १७ जना प्रकाश तहका दरबन्दीमा मात्र रुजु हाजिर देखिएको प्रहरीले जनाएको छ । १ जिल्ला प्रहरी कार्यालय,२ वटा इलाका प्रहरी कार्यालय(दोभान र तेल्लोक),१ कारागार सुरक्षागार्ड,१ बिमानस्थल सुरक्षा गार्ड(सुकेटार),१ प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्ड,१ अदालत सुरक्षा गार्ड,२ सीमा प्रहरी चौकी,१८ वटा प्रहरी चौकी,१ जिल्ला ट्राफिक प्रहरी कार्यालय,७ वटा अस्थायी प्रहरी चौकी र २ वटा अस्थायी प्रहरी पोष्ट गरी यहाँ प्रहरीका ३७ वटा युनिट रहेका छन् । अस्थायी प्रहरी चौकी,सुरक्षा गार्ड,अस्थायी प्रहरी पोष्ट सहितमा युनिटहरुमा भने जिल्ला प्रहरी कार्यालयले मौजुदा जनशक्तिबाटै व्यवस्थापन गर्नुपर्ने हुन्छ । आवश्यक भन्दा कम मात्र रुजु हाजिर प्रहरी देखिनु र मौजुदा जनशक्तिबाटै बिभिन्न क्षेत्रमा प्रहरी कर्मचारी परिचालन गरिनु बाध्यताको रुपमा रहँदै आएको प्रहरीले बताएको छ । यस्तो चुनौतीका बीच जिल्ला प्रहरी कार्यालयले कार्य क्षमताका आधारमा प्रहरी परिचालन गर्ने गरेको र बिदाका माग भएका मध्ये सबैभन्दा बढी आवश्यकताका आधारमा प्राथमिकीकरण गर्न बिदा दिने प्रणालीको विकास गरिएको प्रनाउ राणाले बताउनुभयो । राणाले २०७७ फागुन ४ गतेबाट जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । यो अवधिमा २ जना हवल्दार र २ जना जवान गरी ४ जनालाइ विभागीय कारवाही गरिएको र व्यवसायिक,लगनशिल र कर्तव्यनिष्ठ ७० प्रहरी कर्मचारीलाइ पुरस्कृत गरिएको राणाले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा २ जना सई,६ जना असई,२२ जना हवल्दार,२८ जना जवान र २ जना प्रकाश तहका प्रहरी कर्मचारी रहेको जानकारी दिइएको छ । नागरिक सुनुवाइका क्रममा नागरिकहरुले बजार क्षेत्रमा बढ्दो तीव्र गतिका सवारी नियन्त्रण,ट्राफिक जाम व्यवस्थापन,लागु औषध नियन्त्रण,बिभिन्न क्षेत्रमा गस्ती परिचालनमा बृद्धि,घटनास्थलमा चाँडो प्रहरी पुगेर गर्ने उद्धार,स्थानीय समुदायसंगको समन्वय बढाउनुपर्ने लगायतका सुझाव दिएका थिए । यस्तै सदरमुकाम क्षेत्रमा सीसी क्यामेरोको निगारानीमा थप व्यवस्थापन,बिग्रिएका सीसी क्यामेराको मर्मतसम्भार,प्रदेश सरकारबाट प्राप्त दमकल,एम्बुलेन्स र प्रहरी भ्यान नआउनुको कारण माग गरे भने टेम्पोको भाडादरमा नियन्त्रण र तोक्मे क्षेत्रको बिबादित जग्गामा बढी रहेको घरटहरा बनाउने कार्य सहितका बिषयमा प्रहरीबाट भइरहेका प्रयासका बारेमा जानकारी माग गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे,फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकायका प्रमुखहरु,नागरिक समाजका अगुवा,सञ्चारकर्मी र बाणिज्य संघ सहित निजी क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts