| |

महामन्त्रीमा उम्मेदवारी दिन्छुः काँग्रेस नेता महत

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १७ ।
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने बताउनुभएको छ । बुधबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्नुहुँदै डा. महतले पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेता महतले यसअघि पार्टी सभापति शेरबहादुर देउबालाई सभापतिका लागि सहयोग गरेको उल्लेख गर्दै अब आउँदो महाधिवेशनमा महामन्त्रीका लागि आफूले सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने पनि बताउनुभयो । कोरोना महामारीका कारण महाधिवेशनको समय पटकपटक परिवर्तन गर्नुपरेको र अब भने पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिकाअनुसार महाधिवेशन हुने उहाँले दावी गर्नुभयो ।
काँग्रेस नेता महतले हाल न्यायको क्षेत्रमा देखिएको समस्याप्रति प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर जबरा गम्भीर बन्नुपर्ने बताउनुभयो । प्रधानन्यायाधीस आफैं गम्भीर बन्दै समस्याको निकास उहाँहरुबाटै निस्कनुपर्ने महतले धारणा राख्नुभयो । स्वतन्त्र न्यायपालिकामा हाल देखिएको समस्या चाँडै अन्त्य हुनुपर्ने बताउँदै प्रधानन्यायाधीसले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रस्ट्याउनुभयो ।
न्यायालयमा देखिएको समस्याप्रति विभिन्न टिकाटीप्पणी आइरहेपनि संबैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनको कार्य शुरु गर्ने वातावतरण बनाउनमा प्रधानन्यायाधीस गम्भीर हुनुपर्ने उहाँले दोहो¥याउनुभयो ।
यता काँग्रेस नेतृत्वको गठबन्धन सरकारले चारवटा महत्वपूर्ण काम गरेको पनि उहाँले बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउबा नेतृत्वको सरकारले हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गर्ने कार्य, असंबैधानिक ढङ्गबाट गरिँदै आएको नियुक्ति लगायतका क्रियाकलाप नियन्त्रण गर्न, परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरुको उचित व्यवस्थापन गर्नेजस्ता कार्य सरकारले प्राथमिकता दिएर काम गरेको उहाँले बताउनुभयो ।
अहिलेको सत्ता गठबन्धन दल बीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै आ–आफ्नो ठाउँमा जिम्मेवारपूर्ण भूमिका निर्वाह भइरहेको बताउनुभयो । हालको सरकारको अवधिभर गठबन्धन कायम रहने र आगामी निर्वाचनमा गठन्धनले निरन्तरता पाउने नपाउने विषयमा अहिले नै भन्न नसकिने उहाँको भनाइ थियो । काँग्रेस एक्लैले बहुमत ल्याउनेगरी योजना बनाइरहेको र गठबन्धन साझेदार दलहरु पनि आ–आफ्नो हितको योजनामा हुनसक्ने उहाँले बताउनुभयो ।
यता विदेशी सहयोगको विषयलाई समान रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । एमसीसीबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले कुनै देशको सहयोग लिँदा सहज रुपमा लिने र कुनै देशको सहयोगमा असहजता सिर्जना गर्नु नहुने उहाँको तर्क थियो । भारत, चीन, अमेरिका वा कुनैपनि देशको सहयोग लिनलाई एउटै मापदण्ड हुनुपर्ने उहाँले बताउनुभयो ।
नेता महत प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनका क्रममा ताप्लेजुङ आउनुभएको हो । बुधबार बिहान पाथीभराको दर्शन गर्नुभएका महतले पाथीभराको विकासका लागि आफ्नो पार्टीले सहयोग गर्नमा कुनै कमी हुन नदिने पनि बताउनुभयो । विशिष्ट किसिमबाट पाथीभराको विकास गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । पाथीभरालाई धार्मिक पर्यटनको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने र यसबाट राम्ररी फाइदा लिन सकिने पनि उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts