बैदेशिक रोजगारीमा रहेका ताप्लेजुङे युवाहरुले पठाएको ३२ हजार रकम मेरिङ्देनलाइ हस्तान्तरण
ताप्लेजुङ,८ असोज । बैदेशिक रोजगारीमा रहेका ताप्लेजुङे युवाहरुको सक्रियतामा संकलित करिव ३२ हजार रुपैंया मेरिङ्देन गाउँपालिकालाइ हस्तान्तरण गरिएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं हाङ्देवाका दिपेश बराल र अर्का युवा खगेन्द्र नाल्वो सहितको सक्रियतामा संकलित ३१ हजार ९ सय ४० रुपैंया मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाइ हस्तान्तरण गरिएको हो । बैदेशिक रोजगारीमा रहेका बरालले पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीमार्फत सो रकम अग्नि पीडित परिवारले पाउने गरी हस्तान्तरण गरिदिन अनुरोध गर्नु भएको थियो । दोभान बजारको आगलागी पछि मेरिङ्देन गाउँपालिकाले राहत संकलन तथा बितरणका लागि एकद्धार नीति अपनाएको छ । सोहि अनुसार प्राप्त भएका सबै रकम पालिकाको बिपद् व्यवस्थापन खातामा जम्मा गरी पछि दामाशाहीले पीडित परिवारलाइ बितरण गरिने मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लिम्बूले बैदेशिक रोजगारीमा पुगेकाहरुले गाँस कटाएर अग्नि पीडितका लागि सक्दो सहयोग गर्नु प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे सहितको उपस्थिति रहेको थियो । २०७७ साल फागुन १८ गते भएको आगलागिमा परी दोभान बजारका ५० घर जलेर नष्ट भएका थिए ।