| |

उपचारका लागि आउने बिरामी नै नभएपछि ताप्लेजुङको कोभिड अस्पताल बन्द

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ६ । उपचारका लागि आउने बिरामी नै नभएपछि ताप्लेजुङमा सञ्चालित कोभिड अस्पताल बन्द गरिएको छ । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवनमा रहेको अस्थायी कोभिड अस्पतालको मुख्य प्रवेशद्धारमै ताल्चा लगाइ बन्द गरिएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिरामी नभएपछि कोभिड अस्पताल खाली भएको जानकारी दिनुभयो । बुधवार अपरान्ह सम्मको तथ्याङ्क अनुसार ताप्लेजुङमा अस्पतालमै रहेर उपचार गर्नुपर्ने प्रकृतिका कुनै पनि कोरोनाका बिरामी छैनन् । उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्थाका बिरामी समेत नभएको र नपठाइएको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ । उपचारका लागि बिरामी आएको खण्डमा सेवा दिने अस्पतालले भनेको छ । जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्वन्धी जानकारी दिने सम्पर्क व्यक्ति बिजय गोठाले गौतमका अनुसार १ जना सक्रिय कोरोना संक्रमित स्थानीय तहले बनाएको क्वारेन्टिनमा रहेर स्वास्थ्य लाभ गरिरहनु भएको छ । हाल अहिले सक्रिय संक्रमित रहेका ७१ मध्ये ७० जना होम आइसोलेसनमा रहेर स्वास्थ्यलाभ गरिरहेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा २ हजार ५ सय ११ जनामा संक्रमण देखिएकोमा २ हजार ४ सय २४ जना संक्रमणमुक्त भइसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts