१० बुँदे सहमति कार्यान्वयन हुँदैन : महासचिव पोखरेल
विराटनगर, भदौ २० । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन नहुने बताएका छन् । एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोख्रेलले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा मा हुने बताए ।
अदालतले एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले लागू नहुने बताएका हुन् । उनले भने, ‘१० बुँदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन,’ त्यसैले सहमति कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुन सक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’
उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने उनको भनाइ थियो । ‘२०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले कानुनी रुपमा जेठ २ मा पुग्यौं,’ उनले भने,‘ ‘यसलाई यान्त्रिक ढङ्गले कसैले बुझ्न हुँदैन, कोही कमरेड भ्रममा नपरे हुन्छ ।’ हिजोका दिनमा पार्टीको जिम्मेवारी लिएका र पार्टीमै रहेकाहरुलाई समेटेर जिम्मेवारी दिइने पनि पोख्रेलले बताए ।