जिसस समिक्षा बैठक ः रिड नेपाल र एचपीएफलाइ ताप्लेजुङका बिद्यालय सुधारका नयाँ आयाममा लगानी बृद्धिको प्रस्ताव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङ जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारीले ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपाल र ह्युनम प्राक्टिस फउण्डेसन(एचपीएफ)लाइ बिद्यालय सुधारका नयाँ आयाममा लगानी बृद्धिको प्रस्ताव गरेका छन् । जिल्ला समन्वय समितिको आर्थिक बर्ष २०७७।०७८ को बार्षिक समिक्षाको दोस्रो दिन स्थानीय तहका पदाधिकारीले यस्तो प्रस्ताव गरेका हुन् । ‘छात्रबृत्ति रकम र संख्या बढाउन उहाँहरुले माग गर्नु भएको थियो’रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले भन्नुभयो । तर उहाँले तत्कालै त्यो माग सम्बोधन हुन सक्ने अवस्था भने नरहेको बताउनुभयो । जिल्लाका दुर्गम स्थानको शिक्षा क्षेत्रको परिवर्तनका लागि आफुहरुले सक्दो सहयोग गरिरहेको र स्थानीय तहका पदाधिकारीबाट कार्यक्रमको प्रभावकारितामा देखेर थप सहयोगका लागि माग आउनु राम्रो बिषय रहेको पन्तले बताउनुभयो । रिड नेपाल ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङ्चुङगोला तथा सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन कार्यक्षेत्र भएर सञ्चालनमा रहेको छ । ताप्लेजुङ जिल्लाभर कार्यक्षेत्र रहेको एचपीएफको सहयोगको प्रकृति भने फरक छ । अधिकाँस सहयोगी निकायले भवन बनाउने भन्यो भने ठिङ्ग भवन मात्र बनाउँछन् । एउटा बिद्यालयले एचपीएफको सहयोग पायो भने त्यहाँ बिद्यालय भवन,गुणस्तरीय शिक्षा कार्यक्रम,उद्यमशिलता प्रवद्र्धन कार्यक्रम,साप्ताहिक पाक कक्षा कार्यक्रम,बिद्यालयमा करेसाबारी,स्वच्छव खानेपानी,शौचालय,खेलमैदान,पुस्तकालय,विज्ञान प्रयोगशाला र कम्युटर प्रयोशाला समेतको सुबिधा पुगेको हुन्छ । रिड नेपाल र एचपीएफ दुबैले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि काम गर्छन् । रिड नेपालले गरिव र जेहेन्दार बिद्यार्थीलाइ छात्रबृत्ति प्रदान गर्छ भने एचपीएफले गरिवीकै कारण बीचमै पढाइ छाड्न नपरोस् भनेर गरिव र जेहेन्दार बिद्यार्थीका अभिभावकलाइ उद्यम सृजना गर्न सहयोग गर्दै आएको छ । लघु उद्यम सृजनाका लागि सहयोग र कफी खेती प्रवद्र्धनमार्फत उद्यम सृजना गर्ने कार्यमा समेत एचपीएफले सघाउँदै आएको छ ।‘हामी समग्र शिक्षा र स्वास्थ्यको प्रवद्र्धनका लागि काम गर्छौं’एचपीएफका जिल्ला कार्यक्रम प्रवन्धक अमित श्रेष्ठले भन्नुभयो । कोरोनाका कारण अस्तव्यस्त भएको पढाइ व्यवस्थापनका लागि निरन्तर सिकाइ सहजीकरण कार्य समेत उनीहरुले अगाडि सारेका छन् । रेडियो,अनलाइन,टिभी र पाठ्यसामग्रीले भरिएको मेमोरी बितरण गरी घरमै बसेर सिकाइ सहजीकरणको प्रवन्ध समेत रिड नेपाल र एचपीएफबाट हुने गरेको छ ।‘ताप्लेजुङको शैक्षिक अवस्था परिवर्तनका लागि साँच्चै अनुकरणीय काम भएकोले कार्यक्रममा अझ लगानी र कार्यक्षेत्र बिस्तार समेतको माग उठेको हो’जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले भन्नुभयो । बार्षिक समिक्षा बैठकको दोस्रो दिन पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई,प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,प्रदेशसभा सदस्यद्धय प्रतापप्रकाश हाङ्गाम र होमकुमारी साँवा सहितको उपस्थितिमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts