| | |

पहिरोले विद्यालय भत्काउँदा ३० लाख बराबरको क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ११ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनस्थित सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । केही दिन यतादेखि निरन्तर भइरहेको वर्षाका कारण माथिबाट झरेको पहिरोले विद्यालय संरचनामा क्षति पुर्याएको हो ।
आठराई त्रिबेणी गाउँपालिका वडा नं. १ निघुरादिनका वडाध्यक्ष पूर्णप्रसाद सिटौलाका अनुसार बिहीबार अपराह्न माथिबाट झरेको चट्टनासहितको पहिरोले विद्यालयको पक्की भवनमा क्षति पुगेको हो । पहिरोले विद्यालयको केही कोठा क्षतिग्रस्त बनाएको वडाध्यक्ष सिटौलाले जानकारी दिनुभयो । उक्त विद्यालयको पक्की भवनमा पहिरोले क्षति गर्दा करिव ३० लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताउनुभयो ।
शुक्रबार गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकसहित स्थलगत अनुगमनमा गएको टोलीले पहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गरेको लावतीले जानकारी दिनुभयो । गाउँपालिकाका सूचना अधिकारीसमेत रहनुभएकी लावतीका अनुसार विद्यालय भवनको केही कोठा भत्किएर कोठाभित्रै पहिरो पसेको छ । अझ वर्षा जारी रहेमा थप पहिरो बग्नसक्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
कोरोना महामारीका कारण विद्यालय भने बन्द रहेको छ । अब विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था भएमा पहिरोले क्षति गरेको संरचना पुनर्निर्माण नगरेसम्म पठनपाठन गर्न नमिल्ने भएको सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मणिशङ्कर पोमूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts