कोरोना संक्रमित थपिदैं गएपछि सिदिङ्वाको बजेट अधिबेशन अचानक स्थगित,अर्को मिति फेरी तोकिने
ताप्लेजुङ,असार २९ । मंगलवार मात्रै साब्लाखुका १२ जनामा कोरोना संक्रमण देखिएपछि बुधवार(असार ३०)का लागि तय गरिएको सिदिङ्वा गाउँपालिकाको बजेट अधिबेशन तथा नियमित गाउँसभा अचानक स्थगित भएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले कोरोना संक्रमणको भयाभह अवस्था सृजना हुँदै गएको भन्दै बुधवारका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।‘एकपछि अर्को स्थानमा कोरोना संक्रमित थपिदैं गएकोले बुधवार गाउँसभा गर्न सकिने अवस्था रहेन’प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले भन्नुभयो । उहाँले अवस्था सामान्य भएपछि गाउँसभाको अर्को मिति तय गरिने जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार मात्रै सिदिङ्वा गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार वडा नं ६ मेहेलेमा १६ जनामा संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिबेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाउनु भएका पालिका अध्यक्ष नरबहादुर कडरियालाइ कोरोना संक्रमण भएपछि सिदिङ्वाले असार १० भित्रै बजेट ल्याउन पाएको थिएन । अध्यक्ष कडरिया कोरोेना संक्रमणमुक्त भएपछि उसले असार ३० का लागि बजेट अधिबशेन बोलाएको थियो । तर पालिकाका बिभिन्न स्थानमा संक्रमणको दर बढ्न थालेपछि असार ३० का लागि बोलाइएको बजेट अधिबेशन पनि तत्कालका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताउनुभयो । ताप्लेजुङका ९ मध्ये सिदिङ्वा बाहेक सबै स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि असार १० भित्रै बजेट,नीति तथा कार्यक्रम ल्याइ सकेका छन् । आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौला सहित कार्यरत कर्मचारी समेतमा कोरोना संक्रमण देखा परेपछि अहिले पालिकाको प्रशासनिक कार्य समेत ठप्प प्रायः झैं भएको छ ।