शिक्षकलाइ सम्पति बिबरण बुझाउन ६० दिने म्याद,शिक्षकले भरेको फारम स्थानीय तह र बिद्यालयले संकलन गर्न सक्ने
इउज्यालो पोष्ट
ताप्लेजुङ,असार १९ । सरकारले देशभरका स्थायी शिक्षकहरुलाइ सम्पति बिबरण बुझाउन ६० दिनको म्याद दिएको छ । १८ असारमा देशभरका शिक्षा विकास तथा समन्वय इकाइहरुमार्फत परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत राष्ट्रिय किताब खाना(शिक्षक)ले यो अवधि दिएको हो । देशभरका स्थायी शिक्षकले अब ६० दिन भित्र आर्थिक बर्ष २०७८।०७९ को सम्पति बिबरण बुझाइ सक्नुपर्ने हुन्छ । शिक्षकले तोकिएको ढाँचाबमोजिमको सम्पति बिबरण फारम भरी खाम बाहिर शिक्षकको संकेत(सिटरोल)नम्बर,नामथर,कार्यरत बिद्यालय र ठेगाना,जिल्ला,शिक्षकको तह,श्रेणी,मोवाइल नम्बर र ठेगाना समेत स्पष्ट रुपमा लेखी पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७७।७८ भित्र (अर्थात् १ साउन २०७७ देखि २०७८ साल असार मसान्त सम्म)सेवा निवृत्त भएका शिक्षकले समेत उपयुक्त अनुसारको सम्पति बिबरण बुझाउनुपर्ने हुन्छ । अध्ययन बिदा,असाधारण बिदा र अन्य बिदा,लामो काज वा निलम्बनमा रहेका शिक्षकको सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकोले उनीहरु समेतले म्याद भित्रै सम्पत्ति बिबरण बुझाउनुपर्ने हुन्छ । संकेत नम्बर नमिलेको,तोकिएको मिति भन्दा पछि प्राप्त भएको सम्पति बिबरणलाइ प्राप्त नभए सरह मानी अभिलेख नराखिने सरकारले जनाएको छ । हुलाकमार्फत तोकिएको अवधि भित्र प्राप्त भएको सम्पत्ति बिबरण पीएलएस प्रबिष्ट गरी अभिलेख राखिने तर तोकिएको ६० दिन पछि प्राप्त सम्पति बिबरणलाइ प्राप्त नभए सरह मानी अभिलेख नराखिने समेत बताइएको छ । सरकारले कोभिड–१९ महामारीका कारणले गर्दा नेपाल सरकारले जारी गरेका बिभिन्न मितिका निर्देशन र कार्यविधि बमोजिमको मापदण्ड अनुसार आवत–जावत कठिनाइ र भीडभाडको कुनै पनि कार्यले गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले आर्थिक बर्ष २०७७।०७८ को सम्पत्ति बिबरण दर्ता गर्न व्यक्ति स्वयम्(व्यक्तिगत रुपमा)राष्ट्रि किताव खाना(शिक्षक)जानु नपर्ने गरी बिद्यालय÷स्थानीय तहले संकलन गरी सम्वन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईहरुमा बुझाउने र इकाईहरुले जिल्लाका सबै बिद्यालय शिक्षकहरुको सम्पत्ति बिबरण एकमुष्ट गरी १ साउन २०७८ देखि २८ भदौ २०७८ भित्र अनिवार्य राष्ट्रिय किताब खाना(शिक्षक)मा प्राप्त हुने गरी पठाउनुपर्ने व्यवस्था गरेको छ । बिद्यालयमा कार्यरत करार,राहत,बाल विकास शिक्षक,बिद्यालय कर्मचारी आदिले आफु कार्यरत स्थानीय तहमा बुझाउनुपर्ने छ र स्थानीय तहले सो बिबरण दर्ता गरी सुरक्षित राख्नुपर्ने छ । सम्पत्ति बिबरण बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परे सम्पत्ति बिबरण दर्ता गर्ने प्रयोजनका लागि भोलिपल्ट समेत राष्ट्रिय किताब खाना(शिक्षक) कार्यालय खुल्ला रहने सरकारले जनाएको छ । सम्पत्ति बिबरण फारम www.stro.gov.np मा उपलब्ध रहेको छ भने सम्पत्ति बिबरण दर्ताको जानकारी शिक्षकले उल्लेख गरेको मोवाइल नम्बरमा एसएमएस(SMS)बाट प्राप्त हुने भएको छ ।