| |

मध्य तमोर आयोजनाको काम निरन्तर

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ १३ ।
ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनाको काममा सङ्लग्न केही मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भए पनि निर्माणको कार्य निरन्तर जारी रहेको छ । कोभिड–१९ सङ्क्रमित बाहेकका जनशक्ति आयोजना निर्माणको कार्यमा निरन्तर खटिरहेका हुन् ।
जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीबाट कुल ७३ मेगावाट क्षमता उत्पादन हुने आयोजनाको निर्माण कार्य हाल जारी रहेको छ । कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि आयोजनामा सङ्लग्न केही जनशक्ति पटक–पटक सङ्क्रमित भए पनि निर्माणको कार्य नरोकिएको आयोजनाले जनाएको छ ।
मध्य–तमोर जलबिद्युत आयोजनाका प्रवन्धक मणिराज पोखरेलका दुई पटक गरी १४ जना जनशक्तिलाई कोरोना सङ्क्रमण भएको छ । पहिलो पटक सङ्क्रमित भएका आठ जना सङ्क्रमणमुक्त भइसकेका र दोस्रो पटक छ जनामा सङ्क्रमण देखिएपछि उहाँहरु सरक्षित आइसोलेसनमा रहनुभएको प्रवन्धक पोखरेलले जानकारी दिनुभयो । सङ्क्रमित मजदुरको स्वास्थ्य अवस्था पनि सामान्य रहेको पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार एउटै आयोजनामा कार्यरत रहेकामध्ये केहीमा सङ्क्रमण देखिएपछि अन्यलाई मानसिक रुपमा त्यसको असर हुने भए पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको छ । हाल आयोजनामा २५ जना चिनियाँसहित चारसय जना जनशक्ति सङ्लग्न रहँदै आएका छन् । उक्त सङ्ख्यामध्ये दुई सय २५ जनाको पीसीआर परीक्षण गरिसकेको र बाँकी रहेकाहरुको पनि चाँडै नमुना (स्वाब) सङ्कलन गरी पीसीआर परीक्षण गराउने तयारी रहेको उहाँले बताउनुभयो ।
यता आयोजना निर्माणको कार्य भने हालसम्म ६० प्रतिशत बढी प्रगति भइसकेको प्रवन्धक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार ४०० मिटर लम्बाई रहेको मुख्य सुरुङको निर्माण कार्य करिव ७० प्रतिशत पूरा भइसकेको छ । गतवर्ष पनि कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी (लकडाउन) भएको समयमा पनि निर्माणको कार्यलाई निरन्तरता दिएका कारण आयोजनाको काममा अपेक्षाकृत प्रगति रहेको उहाँको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts