कोरोना संक्रमित पालिकाका नागरिक र खटिने स्वास्थ्यकर्मी सहितको जनशक्तिका पक्षमा सिरिजङ्घाको निर्णय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ११ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिका मातहतका १० वटै स्वास्थ्य संस्थाहरुमा फिवर क्लिनिक सञ्चालन गर्ने र ति क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ मासिक १५ हजार रुपैंया प्रोत्साहन रकम दिने भएको छ । सामुदायिक स्वास्थ्य केन्द्र सिकैचाको ओसे र खाम्दिम्बेमा समेत फिबर क्लिनिक सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाइ मासिक ५ हजार रुपैंया प्रोत्साहन उक्त रकम दिने निर्णय गाउँ कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा सञ्चालित ५ शैयाको कोभिड अस्पताल खटिने चिकित्सक,स्वास्थ्यकर्मी,कार्यालय सहयोगी,एम्बुलेन्स चालकलाइ मासिक तलवको सुरु स्केलको ५० प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बैठकले कोभिड संक्रमण भइ उपचारको क्रममा निधन भएका पालिका भित्रका नागरिकलाइ शव अन्त्येष्टी खर्च वापत जनही २० हजार रुपैंया उपलब्ध गराउने भएको छ । यस्तै पालिकाको केन्द्र तेल्लोकको अस्थायी कोभिड अस्पतालमा उपचार हुन नसकी अन्यत्रका कोभिड अस्पतालमा प्रेषण गर्नुपर्ने बिरामीलाइ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा वा सो नभए निःशुल्क रुपमा यातायात सेवा उपलब्ध गराउने भएको छ । पालिकाको एम्बुलेन्स मर्मत गर्नुपर्ने अवस्था भएकोले एम्बुलेन्सको रुपमा पयोग गर्नेगरी पालिकाले आफ्नै खर्चबाट एकथान सवारी साधन भाडामा लिने भएको छ । यस्तै होम आइसोलेसनमा बसेका कोभिड संक्रमित बिरामीलाइ पोषणयुक्त खाना खुवाउनमा सहयोग पुग्ने उद्देश्य राखेर सिरिजङ्घा गाउँपालिकाले प्रतिव्यक्ति २ हजार रुपैंयाका दरले रकम उपलब्ध गराउने भएको छ । पालिका केन्द्र तेल्लोकस्थित अस्थायी कोभिड केन्द्रमा भर्ना भएका कोभिड संक्रमित बिरामीलाइ खाना तथा खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने भएको छ । पालिकामा कार्यरत कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मी एवम् कर्मचारीलाइ आइसोलेसनमा अलग्गै राख्नका लागि पालिका केन्द्र तेल्लोकमा एउटा छुट्टै घर भाडामा लिने निर्णय पनि गाउँपालिकाले लिएको छ । यस्तै कोभिड–१९ संक्रमणको स्क्रिनिङ गर्न स्वास्थ्यकर्मीको टोली आवश्यकता अनुसार वडा–वडामा खटाउने र उक्त कार्यमा खटिने प्राथमिक स्वास्थ्य केन्द्र,तेल्लोकका ल्याव असिष्टेन्ट र १ जना स्वास्थ्यकर्मीलाइ दैनिक भत्ता तथा भ्रमण खर्चका अलवा प्रोत्साहन स्वरुप खाजा तथा खाना खर्च वापत दैनिक ५ सय रुपैंया थप रकम उपलब्ध गराउने निर्णय समेत गाउँपालिकाले गरेको छ । कोभिड संक्रमित बिरामीको एक्स–रे गर्न खटिने रेडियोग्राफरलाइ व्यक्ति संक्रमित ५ सय रुपैंयाका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको गाउँपालिकाले पालिका केन्द्रमा रहेको अस्थायी कोभिड अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा प्रत्यक्ष खटिने चिकित्सक १ जना,पारामेडिक्स १ जना,नर्सिङ १ जना र कार्यालय सहयोगी १ जनालाइ दैनिक १ हजार ५ सय रुपैंया प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । यस्तै पालिकाले पालिका मातहतका १० वटै स्वास्थ्य संस्थाहरुमा बिरामीको ब्लड प्रेशर,अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी हुने बीआइपीस भाइटल मनिटरिङ खरिद गर्ने भएको छ भने तेल्लोकस्थित अस्थायी कोभिड अस्पतालमा चौबिसै घण्टा बिद्युत आपूर्तिको सहज व्यवस्थापनका लागि १० केभिए क्षमताको जेनेरेटर समेत खरिद गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts