| |

ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामग्री जुट्ने क्रम जारी

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ ६ ।
ताप्लेजुङ जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री जुट्ने क्रम जारी रहेको छ । जिल्लाका जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाको समन्वयमा अस्पताललाई कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग जुट्ने क्रम जारी रहेको हो ।
बुधबार मात्रै पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको समन्वयमा काठमाडौंबाट पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ आइपुगेको छ । पूर्वमन्त्री भट्टराईको पहल तथा समन्वयमा पठाइएको चारसय थान एन्टिजेन किट, सात थान अक्सिजन कन्सिनट्रेटर, एन ९५ मास्क, पीपीई र पञ्जा एक–एकसय थान रहेको छ । यस्तै सर्जिकल मास्क दुईहजार थान, सेफ्टी चस्मा ५० थान र २० लिटर सेनिटाइजर रहेको र उक्त सामग्री जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जिम्मा बुझ्नुभएको छ ।

त्यस्तै यसअघि प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङको पहलमा पनि जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध भएको छ । प्रदेश मन्त्री आङ्बुहाङको पहलमा शøया सेट १० वटा, पीपीई दुईसय थान, पीसीआर किट तीनसय थान, थर्मोगन ४५ थान, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री अस्पताललाई प्राप्त भएको थियो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघको पहलमा पनि जिल्ला अस्पताललाई सानो ठूलो गरी २५ थान अक्सिजन सिलिण्डर उपलब्ध गरिएको छ । जिल्लाकै एक व्यवसायीले पनि अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको थियो । फुङ्लिङस्थित मनिष इन्जिनियरिङ वर्कशपका सञ्चालक यामबहादुर गुरुङले चार थान अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुभएको थियो ।

जिल्लामा कोरोना सङ्क्रमण दर भने तीब्र रुपमा बढिरहेको छ । हालसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय २५ रहेको छ भने सात जना सङ्क्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार हालसम्म कोभिड सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ रहेको छ । बिहीबार पनि यसअघि पीसीआर परीक्षणका लागि पठाएकाहरुको रिपोर्ट आउनसक्ने खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts