| |

ताप्लेजुङमा निषेधाज्ञालाई थप कडाइ गरिँदै

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २३ ।
ताप्लेजुङमा गएको सोमबारदेखि लागू गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । सदरमुकाम फुङ्लिङभित्र कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि बिहीबारदेखि निषेधाज्ञालाई थप कडाइ गरिएको हो ।
जिल्लाभित्र दिन प्रतिदिन कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको दर बढ्दै गएकाले निषेधाज्ञा (कर्फ्यु) लाई कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । सङ्क्रमणको जोखिम बढिरहेका बेला गरिएको निषेधाज्ञामा मानिसहरुको सामान्य चहलपहल देखिएकाले पनि थप कडाइ गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
प्रजिअ पाण्डेका अनुसार बिहीबारदेखि कोही पनि मानिस घर बाहिर निस्कन नपाउनेगरी कडाइ गरिएको छ । अब निषेधाज्ञाको अवधिमा अनावश्यक घर बाहिर निस्किएको पाइएमा ठाउँको ठाउँ कारबाही हुने पाण्डेको भनाइ छ । निषेधाज्ञा थप कडाइ गरिएसँगै यसको उल्लङ्घन गर्ने र अटेर गरी बाहिर निस्कने साथै बजारमा पसल खोल्नेलाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञाको निगरानीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन हुने छन् ।
ताप्लेजुङमा बुधबार र बिहीबार मात्रै ८० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । केही दिनअघि फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइनमा ८५ वर्षीया वृद्धा र ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि र फुङ्लिङ बजार तोक्मेका एक युवाको शंकास्पद मृत्यु भएपछि सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको हो । उक्त क्षेत्रबाट कोभिड–१९ को शंकास्पद लक्षण देखिएका तथा कन्ट्रयाक ट्रेसिङकासमेत गरेर स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा धेरैको रिपोर्ट पोजेटिभ आएको हो ।
फुङ्लिङबजारको तोक्मे क्षेत्रका ५८ जनाको स्वाब परीक्षण गर्न प्रदेश प्रयोगशाला विराटनगर पठाएकोमा बिहीबार ४८ जनाको रिपोर्ट पोजेटिभ आएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको हो । जिल्ला अब थप भएका नयाँ सङ्क्रमित र पहिलेका १९ जनासमेत गरेर सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।
यता बैशाख २७ गते सम्मका लागि लगाइएको निषेधाज्ञाको समय अहिलेकै अवस्थामा सङ्क्रमण बढ्दै गएमा लम्बिन सक्ने सङ्केत जिल्ला प्रशासन कार्यालयले दिएको छ । बिहीबार थप एकसय दुईजनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । उक्त सङ्ख्यामध्ये १९ जना यसअघि सङ्क्रमित रहेकाको पुनः परीक्षण गर्न नमुना पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts