नेपालको साहसिक पर्यटनप्रति चिनियाँको चासो

अरुलाई पनि शेयर गरौ !

बेइजिङ,पुस ९ । चीनमा भएको स्पोर्ट्स् कल्चर तथा टुरिज्म एक्स्पोपछि नेपाल घुम्न चाहने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । व्यापारिक सहर क्वाङ्चौमा सोमबारदेखि भएको तीन दिने प्रदर्शनीमा नेपालका तर्फबाट सहभागी एड्भेन्चर ट्राभल कम्पनीहरूको सहभागिताले पर्यटकको ध्यानाकर्षण गरेको हो । प्रदर्शनीमा नेपालसहित चीन, अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, उरुग्वे, अर्जेन्टिना, नेदरल्याण्ड्सलगायतका देशहरूले अनलाइन माध्यमबाट भाग लिएका थिए । ‘दैनिकजसो एक दर्जनको हाराहारीमा चिनियाँ तथा विदेशी पर्यटकहरूले नेपाल घुम्नका लागि भिसा प्रक्रिया तथा नेपालको वर्तमान कोभिड अवस्था लगायतबारे सोधखोज गर्न चिनियाँ र अन्य विदेशीहरू आउने गरेका छन्’, क्वाञ्चौस्थित नेपाली महावाणिज्यदूतावासका कन्सुलेट कुञ्जन साहले कान्तिपुरसँग भने, ‘अनलाइन प्रदर्शनी भएकाले यसको प्रभाव लामो समयसम्म रहनसक्नेछ जसबाट नेपालको एडभेन्चर पर्यटनलाई जगाउन सहयोग पुग्नेछ ।’ प्रदर्शनीमा नेपालको एडभेन्चर स्पोर्ट्ससँग सम्बन्धित कम्पनीहरूको परिचय राखिएको छ। खेलकुद तथा साहसिक पर्यटन, बन्जी जम्प, क्यानोयिङ, राफ्टिङ, वाटरफल क्लाइम्बिङ, सफारी तथा नेपाली खानेकुरा सम्बन्धी विषयवस्तुले चिनियाँ तथा विदेशी पर्यटकको ध्यानाकर्षण गरेको छ। ‘कोभिड महामारी पूर्णतया नियन्त्रणमा आइनसकेका कारण चिनियाँहरू धेरै टाढाको देश घुम्न जान त्यति उत्साहित देखिन्नन्, त्यसैले चीन वरिपरिका मुलुक घुम्न उनीहरूका लागि सहज लाग्ने भएकाले नेपालको पर्यटन क्षेत्रप्रति चासो राखेको देखिन्छ’, साहले भने । चीनमा यसअघि भएको शांघाघ एक्स्पो र कोभिड १९ महामारीका कारण केही समय पछाडि धकेलिएको यो गतिविधि डिसेम्बर २१ देखि २३ सम्म आयोजना गरिएको हो। नेपालको तर्फबाट सबैभन्दा उत्कृष्ट पर्यटन गराउने ट्राभल कम्पनीहरू, फोटोग्राफर तथा भिडियोग्राफरहरू र सेलिब्रिटीहरूलाई आमन्त्रण गरिएकाले राम्रो प्रभाव छोडिएको नेपाली महावाणिज्य दूतावासको विश्वास छ। चीनमा अनलाइन कल्चर पनि विकसित भइरहेका बेला रक क्लाइम्बिङ, स्काइ डाइभिङ, बञ्जी जम्पिङसँग सम्बन्धित नेपालका सात वटा पर्यटन कम्पनीहरू र एसियन ट्रेकिङका दावा स्टेभेन शेर्पाको सहभागिताले चिनियाँलाई नेपाली साहसिक पर्यटनप्रति चासो जगाएको छ । सगरमाथा सरसफाइदेखि गोक्यो लेकमा आइस स्केटिङ गराउनेसम्मका साहसिक पर्यटन गराउने कुराले दावा चिनियाँ माझ पनि परिचित छन्। कोरोनाका कारण अनलाइन विधिमा गरिएको कार्यक्रमलाई चिनियाँ सम्बन्धित अधिकारीहरूले सम्बोधन गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts