नयाँ स्वरुपमा कोरोना भाइरस फैलिएपछि बेलायतमा फेरि लकडाउन

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस ७ । कोरोना भाइरसले स्वरूप बदलेसँगै संक्रमण तीव्र रूपमा फैलिएपछि लन्डन, वेल्स र इंग्ल्यान्डवासीले कडा प्रतिबन्धहरूको सामना गरेका छन् । नयाँ लकडाउनले २ करोड १० लाख मानिस प्रभावित भएका छन् । उनीहरूलाई घरैमा बस्न अपिल गरिएको छ । क्रिसमसका बेला भएको उक्त प्रतिबन्धले इंग्ल्यान्डवासीमा आक्रोश पैदा भएको छ । वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए । वेल्समा आइतबारदेखि नै देशव्यापी लकडाउन सुरु भएको छ भने नर्दन आयरल्यान्डमा अर्को सातादेखि लकडाउन गर्ने घोषणा भइसकेको छ । स्कटल्यान्डमा डिसेम्बर २६ देखि तीन सातासम्म अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द गर्ने घोषणा भएको छ । टियर फोर लागू गरिएको क्षेत्रमा आफ्नो घरबाहिरका एक जना सदस्यसँग ‘आउटडोर’ मात्रै भेट गर्न सकिनेछ । रेस्टुरेन्ट, पब, बार, हेयर ड्रेसर, जिम आदि बन्द रहनेछन् । औषधि र खानासहितका अत्यावश्यक सामग्री बिक्री गर्नेबाहेक अन्य सबै स्टोर बन्द गर्न भनिएको छ । क्रिसमसका बेला यसअघि ५ दिन एकअर्को घरमा मिसिन दिइएको छुट सुविधा पनि हटाइएको छ । नयाँ टियर फोर प्रतिबन्ध कडाइका साथ लागू गर्न अतिरिक्त प्रहरी अधिकृतहरू परिचालन गर्ने सरकारी तयारी छ ।
नयाँ भाइरसले चिन्ता
ब्रिटिस अधिकारीहरूले कोरोना भाइरसको एउटा नयाँ स्वरूप पत्ता लागेको र त्यो यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाएका छन् । विश्व स्वास्थ्य संगठनलाई एक पत्र लेखेर ब्रिटेनले त्यस्तो जानकारी गराएको हो । ब्रिटिस सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले भीयूआई–२०२०१२र०१ नामक कोरोना भाइरसको उक्त नयाँ जीवाणुले निकै बढी संक्रमणता देखाएको जनाएका छन् । सर भ्यालेन्सले गत सेप्टेम्बर महिनामा दक्षिण पूर्वी इंग्ल्यान्डमा भएको कोभिड–१९ संक्रमणमध्ये २८ प्रतिशत कोरोना भाइरसको नयाँ स्ट्रेनबाट भएको तर डिसेम्बरमा लन्डनमा भएका सबै संक्रमणमध्ये ६२ प्रतिशत सोही स्ट्रेनका कारण भएको पाइएको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको नयाँ स्वरूपबारे बेलायती अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ । डब्लूएचओले बेलायतसहित नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा समेत कोरोना भाइरसको उस्तै स्वरूप पत्ता लगाएको जनाएको छ । अहिले विकास भइरहेका खोपले नयाँ भाइरसलाई नियन्त्रण गर्दैन भन्नेचाहिँ पुष्टि भइसकेको छैन् । बेलायतको बर्मिङघम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्यालले नयाँ भाइरसबारे अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘भाइरसमा परिवर्तन आउनु सामान्य हो । फ्लुको भाइरसमा पनि यस्तै हुन्छ,’ पौड्यालले कान्तिपुरसँग भने । यसको मानिसलाई हानि गर्ने क्षमता पहिलाको भाइरस जस्तै वा घटबढ हुन सक्ने उनको धारणा छ ।
युरोपमा बेलायतका उडान प्रतिबन्ध
युरोपेली देश नेदरल्यान्ड्स र बेल्जियमले आफ्नो देशमा ब्रिटेनका उडान प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उता इटाली, जर्मनी, फ्रान्स, आयरल्यान्ड र अस्ट्रियाले पनि प्रतिबन्धको योजना बनाइरहेको बीबीसीले जनाएको छ । बेलायतको अवस्थाबारे अझै स्पष्ट भइनसकेको भन्दै डच सरकारले नेदरल्यान्ड्समा नयाँँ भाइरस छिर्ने जोखिम कम गर्न १ जनवरीसम्म उडान प्रतिबन्धको निर्णय गरेको छ । उसले ईयूका सदस्य राष्ट्रहरूसँग पनि युरोपमा नयाँ भाइरसको जोखिम कम गर्न निकट रहेर काम गर्ने बताएको छ । बेलायतबाट बेल्जियम जाने रेलसेवा पनि स्थगित भएको छ । जर्मनीका स्वास्थ्य अधिकारीहरूले यूके र साउथ अफ्रिकाबाट उड्ने हवाईजहाजहरूलाई प्रतिबन्ध लगाउनेबारे सोचिरहेको एएफपीलाई बताएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts