|

सुरक्षित नागरिक आवास कार्यक्रम ः मैवाखोलाका ३० घर परिवारको फुसको छाना हट्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २५ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ३० वटा घरको खरको छानो बिस्थापन गरिएको छ । नागरिक आवास जिल्ला समन्वय समितिका संयोजक समेत रहनु भएका पर्यटनमन्त्री योगेशकुमार भट्टराइले खरको छानो बिस्थापन भएका परिवारलाइ टिनको छाना सहितको घर हस्तान्तरण गर्नु भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले आर्थिक बर्ष २०७६।०७७ को बजेटमार्फत मैवाखोला गाउँपालिका वडा नं ३ साँघुको ओदकका ३० वटा घर परिवारको फुसको छानो हटाइ च्यादर लगाउने कार्यको अगुवाइ गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना झापाका डिभिजनल प्रमुख राजेन्द्र खतिवडाका अनुसार मैवाखोला गाउँपालिकाका १ सय ७४ फुसको घर जस्तापाताले छाउने गरी कार्यक्रम स्वीकृत भएको छ । ति मध्ये पहिलो चरणमा ३० घर परिवारको फुसको छाना बिस्थापन गरिएको हो । डिभिजनल प्रमुख खतिवडाका अनुसार फुसको छानो हटाउने कार्यका लागि सरकारले प्रति घरपरिवार ५० हजार रुपैंया उपलब्ध गराउँछ । उहाँका अनुसार मैवाखोला सहित ताप्लेजुङका ९ स्थानीय तहका १ हजार ८ सय १४ घरमा रहेको फुसको छाना बिस्थापन गरिने छ । जस अनुसार फुङ्लिङ नगरपालिकामा १ सय ९०,फक्ताङ्लुमा २ सय ४५,सिरिजङ्घामा १ सय ६७,सिदिङ्वामा २ सय ९०,पाथीभरा याङ्वरकमा २ सय,मेरिङ्देनमा १ सय ८८,आठराइ त्रिबेणीमा २ सय १३ र मिक्वाखोलामा १ सय ४७ घरपरिवारको फुसको छाना हटाएर च्यादर लगाईदैंछ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत खरको छानो बिस्थापन कार्यक्रम कार्यविधि अनुसार जिल्लाका संघीय सांसद मध्ये बरिष्ठ सदस्य समन्वय समितिको संयोजक हुनेहुने छ । भट्टराइ संघीय संसदमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुनुहुन्छ । उहाँ २०७४ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको हो । संघीय सांसद मध्ये बरिष्ठ सदस्य संयोजक हुने समितिमा जिल्ला समन्वय समितिका प्रमुख,जिल्ला समन्वय अधिकारी र जिल्लाभरीका सबै पालिकाका प्रमुख÷अध्यक्ष सदस्य रहने प्रावधान छ । खरको छानो बिस्थापन कार्यक्रममा समाबेश हुने वा यस कार्यमा सरकारबाट सहयोग पाउने सेवाग्राही छान्न पालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत र एकजना इञ्जिनियर समेतलाइ बैठकमा आमन्त्रित सदस्यको रुपमा बोलाउने गरिन्छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष राजनकुमार थत्लुङले पालिकाभित्रका बिपन्न,असाहाय र एकल महिला समेतका गरी अघिल्लो आवमा ३० घरलाइ सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत खरको छाना बिस्थापन गर्न सकिएको बताउनुभयो । उहाँले पालिका भरी क्रमशःयो कार्य अघि बढाइने जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts