|

ताप्लेजुङका ४ गाउँपालिकाले चिसो तथा हिमपात सम्वन्धी उद्धारका सामग्रीहरु खरिद गर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २३ । हिमपातको उच्च जोखिममा रहेका ताप्लेजुङका ४ गाउँपालिकाका ५ वटा वडाहरुले चिसो तथा हिमपात सम्वन्धी राहत तथा उद्धारका सामग्रीहरु खरिद गर्ने भएका छन् । जिल्ला बिपद् व्यवस्थापन समितिले बिपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि भन्दै मिक्वाखोला,सिरिजङ्घा,फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकालाइ चिसो तथा हिमपात सम्वन्धी राहत तथा उद्धारका सामग्रीहरु खरिद गर्न आग्रह गरेको थियो ।‘चिसो तथा हिमपातको जोखिमबाट बचाउन राहत तथा उद्धारका सामग्रीहरु खरिद गर्ने निर्णय लिइसकेका छौं’सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले भन्नुभयो । सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बिपद् पालिका स्तरीय बिपद् तयारी तथा प्रतिकार्य योजना र जिल्ला बिपद् व्यवस्थापन समितिको प्रस्ताव अनुसार चिसो तथा हिमपात सम्वन्धी राहत तथा उद्धारका सामग्रीहरु खरिद गर्ने योजना सुनाउनुभयो । बिपद् व्यवस्थापन समितिले फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ६ लेलेप र वडा नं ७ ओलाङ्चुङगोला,मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङ,सिदिङ्वा गाउँपालिकाको वडा नं १ कालिखोला र सिरिजङ्घा गाउँपालिकाको वडा नं ८ याम्फुदिनलाइ चिसो तथा हिमपातबाट बढी प्रभावित हुने सम्भाब्य क्षेत्रको रुपमा लिएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले बिपद्को पूर्व अनुमान,पूर्व तयारी,रोकथाम वा न्यूनकिरण र उद्धार,राहत तथा पुर्नस्थापना सम्मका कार्य गर्ने दायित्व स्थानीय सरकारको भएकोले सम्भाब्य घटनाको पहिचान गरी बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका लागि बिपद् व्यवस्थापन समितिले स्थानीय तहलाइ अनुरोध गरेको बताउनुभयो । खरिद भएका हिमपात सम्वन्धी राहत तथा उद्धारका सामग्रीहरु सम्वन्धित पालिकामा रहेको पायक पर्ने प्रहरी युनिटमा राखिने भएको छ । राहत तथा उद्धारका क्रममा स्थानीय बासिन्दा,रेडक्रस सहितका सामाजिक संस्था र जनप्रतिनिधि सहित नागरिक समाजसंग मिलेर प्रहरीले कार्य गर्ने भएकोले राहत तथा उद्धारका सामग्री प्रहरी युनिटमा राख्ने सहमति भएको प्रजिअ चापागाँइले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts