दसैं सुरक्षाः प्रविधिद्वारा निगरानी, देशभर ४८ हजार प्रहरी परिचालन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज ३० । कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल प्रहरीले प्रविधिसहितको दसैंलक्षित सुरक्षा योजना ल्याएको छ । जनशक्ति कम प्रयोग र प्रविधिको बढी प्रयोग गरी यस वर्ष उपत्यकामा सुरक्षा चुस्त राख्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो । दसैं नजिकिँदै गर्दा काठमाडौंमा ड्रोन, डमी, सिसी क्यामेरालगायत प्रविधिजन्य उपकरणबाट सुरक्षा रणनीति तयार पारिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाको मुख्य क्षेत्रको सुरक्षा निगरानी प्रविधिमा केन्द्रित बनाइनेछ । कोरोना संक्रमण फैलने डरमा कार्यालयभित्रका डेक्सबाट प्रहरीले ड्युुटी गर्नेछन ्। ‘यो वर्ष काठमाडौंको दसैंसुरक्षा रणनीति फरक छ । इन्टरनेट, कम्प्युटर, सिसी क्यामेरा, डमीजस्ता प्रविधिको व्यापक प्रयोग हुन्छ । यसो गर्दा प्रहरी सडकमा कम देखिए पनि सुरक्षा व्यवस्था भने चुस्त नै हुन्छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार प्रहरी प्रधान कार्यालयले दसैंतिहारमा उपत्यकाका मुख्य सहरी क्षेत्रको सुरक्षाका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, भक्तपुर परिसर, ललितपुर परिसर र काठमाडौं परिसरसँग समन्वय गरी सुरक्षा योजना तय गरिसकेको छ । यसबाहेक देशभरको सुरक्षा व्यवस्था चुस्त राख्न नेपाल प्रहरीले ४८ हजार ४ सय ३० प्रहरी परिचालन गर्ने जनाएको छ । कोरोना महामारीका कारण कतिपय प्रहरी कार्यालयमा जनशक्ति अभाव भएपछि केन्द्र र प्रदेशको प्रहरी परिचालन गरेर भए पनि सुरक्षा योजना व्यवस्थित पारिएको नेपाल प्रहरीले जनाएको छ । सुरक्षा व्यवस्था बलियो राख्न प्रदेशअनुसार प्रहरी जनशक्ति तोकिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार रानीपोखरीबाट ७ हजार ५ सय ५० जना, प्रदेश १ को प्रहरी कार्यालयबाट ७ हजार ९ सय २२ जना, प्रदेश २ मा ७ हजार ३ सय १०, बाग्मती प्रदेशमा ४ हजार १ सय ५३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ र सुदूरपश्चिममा ५ हजार ५० जना प्रहरी परिचालन गर्ने तयारी भएको छ । यी क्षेत्रमा आवश्यकताअनुसार प्रहरी परिचालित हुनेछन् । (नागरिक अनलाइनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts