थप १२ जनामा कोरोना देखिएपछि चीनले चिङ्दाओ सहरका सबैको परीक्षण गर्ने

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)बेइजिङ,असोज २७ । चीनको चिङ्दाओ सहरमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने भएको छ । आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त सहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको हो । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी ५ दिनमा सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ । राजधानी बेइजिङबाट ७ सय किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय सहर चिङदाओको चिङ्दाओ चेस्ट हस्पिटलमा १२ जनालाई कोरोना पुष्टि भएपछि पूरै सहरमा परीक्षण गर्न लागिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । चीनमा कोरोना परीक्षण निकै द्रुत गतिमा हुने गरेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार आइतबार केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य संस्थाका कर्मचारी र नयाँ भर्ना भएका बिरामी गरी एक लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । यसअघि चीनले गत मे महिनामा कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका करिब १ करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो । चीनमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा नियन्त्रण भइसकेको छ । पछिल्लो समय फाट्टफुट्ट रुपमा मात्रै चीनमा कोरोना पुष्टि हुने गरेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोग(एनएचसी) का अनुसार आइतबार चीनमा २१ जनामा कोरोना पुष्टि भएको थियो । यसमा चिङ्दाओका संक्रमित समावेश छन् वा छैनन् भन्ने कुरा चाहिँ खुलाइएको छैन । पछिल्लो समय चीनमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सोमबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार ८ सय १२ रहेको छ । त्यस्तै चीनमा कोरोनाबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । चीनमा कोरोना पुष्टि भएकामध्ये ८५ हजार ६ सय ६९ संक्रमणमुक्त भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts