जेन जी ताप्लेजुङले भन्यो‘पाथीभराका कर्मचारी नियुक्ति र कार्यविभाजन पारदर्शी भएन,छानबिन जरुरी छ’
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ८ । काउन्सिल अफ जेन जी ताप्लेजुङले पाथीभरा क्षेत्र विकास समितिको कर्मचारी नियुक्ति र कार्य विभाजन स्पष्ट नभएको दावी गर्दै तीनबर्षताको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ ।
सोमवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत काउन्सिल अफ जेन जी ताप्लेजुङले जनस्तरको समितिलाई समेत आयव्यय विवरण सार्वजनिक गर्न आग्रह गरेको छ । काउन्सिल अफ जेन जी ताप्लेजुङका संयोजक गोपाल गुरागाँईले केहिदिन अघि सामाजिक सञ्जालमा आएका पाथीभरा क्षेत्र,डिजेल प्लान्ट र लिफ्टिङ खानेपानी योजनासहितका सन्दर्भ सामग्री निर्माण जेन जी ताप्लेजुङबाटै गरिएको स्पष्ट पार्नुभयो । भन्नुभयो‘हामी त्यसको जिम्मेवारी लिन्छौं’ ।
गुरागाँईले प्रहरी प्रशासन समेतलाई जोडि आएका बर्दी समेत हालेर गरिएका सामग्री निर्माणमा भने भूल हुन पुगेको बताउनुभयो ।‘हाम्रो मनशाय अपारदर्शी काम भएको भए छानबिनका लागि प्रहरी प्रशासन सम्बेदनशिल हुनुपर्छ भन्ने हो’उहाँले भन्नुभयो । उहाँले पाथीभरा क्षेत्र विकास समितिका कतिपय कर्मचारीको जीवनशैली शंकास्पद रहेको भन्दै कर्मचारीको नियुक्ति प्रकृया,तलव सुविधा,कर्मचारी संख्यासहितको विवरणप्रति आफुहरुले चासो राखेको समेत बताउनुभयो ।‘हामी पाथीभरा क्षेत्र विकास समितिलाई २४ घण्टा भित्र आयव्यय विवरण सार्वजनिक गर्न चुनौति दिन्छौं’गुरागाँईले भन्नुभयो । दानको रकम जथाभावी प्रयोग गरिएको उहाँको भनाई थियो । डिजेल प्लान्ट सञ्चालनका क्रममा आर्थिक पारदर्शीता कायम नभएको गुनासो आइरहेको भन्दै जेन जीहरुले त्यसतर्फ समेत आफुहरु गम्भिर रुपले प्रस्तुत हुने बताए । पाथीभरा लिफ्टिङ खानेपानी आयोजनाको लथालिङ्ग अवस्थाबारे आफुहरुले गहिरिएर अध्ययन गरिरहेको गुरागाँइले बताउनुभयो ।
जेन जी अगुवा सागर लामगादेले आफुहरुले आर्थिक अनियमितता बिरुद्धका कुराहरु उठान गर्न सुरुवात गरेको बताउँदै हरेक क्षेत्रका समस्याबारे गहन रुपले अध्ययन भइरहेको जानकारी दिनुभयो ।‘पाथीभरा मन्दिरबाट संकलित सुन प्रशोधन गर्ने कार्यमा प्रहरीको रोहवर नगरिएकोले यस्ता बिषय झन् शंकास्पद बन्दै गएका छन्’लामगादेले भन्नुभयो । सदरमुकाम क्षेत्रमा आउने खानेपानी निर्माण कार्यले पाइरहेको सुस्तता र त्यसभित्रको गतिविधि पनि शंकास्पद रहेको बताउँदै लामगादेले प्रतिप्रश्न गर्दै भन्नुभयो ‘नगरपालिका क्षेत्रकै नागरिकले अहिले पनि खानेपानीका लागि प्रयोग गर्ने कालो पाइप समेत मागिरहनु परेको छ,यसले विकासको अवस्था कस्तो छ भन्ने सहज अनुमान हुँदैन र ? । काउन्सिल अफ जेन जी ताप्लेजुङले सोमबारै प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाललाई पाथीभरा क्षेत्रसहित जिल्लाका समसामयिक समस्याको सुक्ष्म ढंगले अध्ययन गरी सत्यतथ्य बाहिर ल्याइदिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ ।