फक्ताङलुङमा ५८ जना शंकास्पदको खकार संकलन गरी थप परीक्षणका लागि जेनएक्सपर्ट प्रयोगशाला पठाईयो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । विद्युतीय एआई एक्स–रे प्रविधिद्धारा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका गरिएको परीक्षणका क्रममा क्षयरोगको आशंका गरिएका ५८ जनाको खकारको नमूनाको थप परीक्षणका लागि पठाईएको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार १ सय ५० जना महिला र १ सय १ जना पुरुष गरी २ सय ५१ जनाको परीक्षण गर्दा क्षयरोगको आशंका गरिएका ५८ जनाको खकारको नमूना संकलन गरी थप परीक्षणका लागि जेनएक्सपर्ट प्रयोगशाला पठाईएको हो । फक्ताङलुङ गाउँपालिकाले स्वास्थ्य चौकी सिँवामा विद्युतीय एआई एक्स–रे प्रविधिद्धारा एकदिने क्षयरोग खोज पड्ताल शिविर सञ्चालन गरेको थियो । संकलित खकारका नमूना जेनएक्सपर्ट प्रयोगशालाका गरिएको परीक्षण पछि मात्र क्षयरोग हो वा होईन भन्ने एकिन हुने छ ।
शिविर सम्पन्न भएपछि फक्ताङलुङ गाउँपालिकाले कोशी प्रदेश सरकार,क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटा,स्वास्थ्य कार्यालय ताप्लेजुङ र फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई धन्यवाद दिएको छ । यसैबिच मैवाखोला गाउँपालिकाले मंसिर ५ गते शनिवार साँघु स्वास्थ्य चौकीमा विद्युतीय एआई एक्स–रे प्रविधिद्धारा सक्रिय क्षयरोग खोज पड्ताल शिविर सञ्चालन गर्ने भएको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले क्षयरोगीको जोखिम समूहमा रहेका एआई जडित एक्स–रे प्रविधिबाट खोज पड्ताल शिविर सञ्चालन गर्न लागिएको बताउँदै शंकास्पद सबैलाई परीक्षणमा उपस्थित भई स्वास्थ्य लाभ आर्जन गर्न हुन आग्रह गर्नु भएको छ ।