दोभान बजारका अग्नि पीडितलाई ताप्लेजुङ युके समाजले दियो २ लाख रुपैयाँ राहत
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । ताप्लेजुङ युके समाजले दोभान बजारका आगलागी पीडितलाई शनिवार २ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।
ताप्लेजुङ युके समाजका प्रतिनिधि अञ्चल नाल्वोका अनुसार आगलागी पीडित १६ घर परिवार प्रत्येकलाई १२ हजार ५ सय रुपैयाँका दरले २ लाख रुपैयाँ राहत बितरण गरिएको छ । मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामको बिशेष उपस्थिति र मेरिङदेन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्वोको उपस्थितिमा आगलागी पीडितलाई राहत रकम हस्तान्तरण गरिएको ताप्लेजुङ युके समाजले जनाएको छ ।
राहत बितरण कार्यक्रममा बोल्दै मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले आगलागीले पीडित परिवारलाई युकेमा पुगेका प्रवासी नेपालीले गरेको सहयोगको प्रशंसा गर्नु भएको छ । गत असोज ८ गते दोभान बजारमा भएको आगलागीका कारण ८ घरधनीका १० घर जल्दा १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ ।