सुरक्षा फौजको संयुक्त टोलीद्धारा ताप्लेजुङमा गरियो विपद् उद्धार प्रतिकार्य नमूना अभ्यास शिक्षण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । ताप्लेजुङस्थित नेपाली सेनाको दुर्गादल गुल्मको संयोजन तथा जिल्लास्थित सुरक्षा निकायको सहभागिता र सक्रियतामा शुक्रवार फुङलिङमा विपद् उद्धार प्रतिकार्य नमूना अभ्यास शिक्षण गरिएको छ ।
दुर्गा दल गुल्म परिसरमा भएको विपद् उद्धार प्रतिकार्य नमूना अभ्यास शिक्षणमा नेपाली सेना,जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामा कार्यरत जनशक्तिले विपद् उद्धार प्रतिकार्यका क्रममा प्रयोग गरिने योजना र कार्यका बारेमा अभ्यासमार्फत जानकारी गराएका थिए । दुर्गा दल गुल्मका गुल्मपति सेनानी कृतार्थ शमसेर जवराका अनुसार हाई लाइन हाई एङ्गल रेस्क्यु, -यापलिङ प्रर्दशन,रिभर क्रसिङ र आगलागी नियन्त्रण सम्वन्धी नमूना अभ्यास शिक्षण गरिएको थियो ।
अभ्यास शिक्षणका क्रममा नदी तथा खोला खोंच क्षेत्रमा आपतमा परेका र घाइते भएकाहरुको डोरीको सहायताबाट गरिने उद्धारको तरिका,आपतमा परेका र उद्धारमा रहेका तर उद्धारका लागि पुग्ने बाटो नभएको अवस्थामा डोरीका माध्यमबाट गरिने उद्धार तरिका,नदी तथा खोलाको वल्लो भागबाट पल्लो भागमा गएर गरिने उद्धार तरिका र खाना पकाउने ग्याँस सिलिण्डरबाट हुने सम्भावित आगलागी तथा अन्य कारणबाट हुने सम्भावित आगलागीका क्रममा अग्नि नियन्त्रणका उपायका तरिका बारे जानकारी प्रस्तुत गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेशकुमार दाहालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले विपद्का समयमा राहत,उद्धार तथा उपचारका लागि सक्रिय हुने जिल्ला स्थित सुरक्षा निकायका जनशक्तिले आफ्नो विपद् उद्धार कौशलको प्रर्दशनी मात्र नभई सम्भावित विपद् बिरुद्ध पूर्व तयारी तथा सावधानीका लागि सम्वन्धित पक्षलाई सजग र सम्बेदनशिल गराउने उद्धेश्यले संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा प्रजिअ दाहाल,दुर्गादल गुल्मका गुल्मपति जवरा,जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँई,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मका गुल्मपति सशस्त्र डिएसपी धनबहादुर बोहोरा,ताप्लेजुङ जिल्ला अस्पतालका मेसु डा.किरण थापा मगर,प्याब्सनका पूर्व केन्द्रीय सदस्य युवराज गिरी,रेडक्रस,उद्योग बाणिज्य संघसहितका सामाजिक संघसंस्थाका प्रतिनिधि,राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त बिद्यार्थी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।