शिक्षा विकास तथा समन्वय एकाइले ताप्लेजुङका सबै स्थानीय तहलाई माग्यो शिक्षक देखि सिकाई केन्द्रसम्मको विवरण
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १८ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जिल्लाभर कार्यरत शिक्षक देखि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष र परिचालकसम्मको विवरण माग गरेको छ ।
एकाइ प्रमुख प्रकाश गुरुङका अनुसार अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने प्रयोजनका लागि यस्तो विवरण माग गरिएको हो । यहाँका ९ वटै स्थानीय तहको शिक्षा,युवा तथा खेलकुद शाखालाई पत्राचार गर्दै एकाइले पालिका अन्तरगत सञ्चालित सामुदायिक सिकाई केन्द्रका अध्यक्ष,परिचालक तथा बिद्यालयमा कार्यरत वाल विकास सहजकर्ता समेतको विवरण मागेको हो ।
एकाइले आधारभूत बिद्यालयमा कार्यरत बिद्यालय सहयोगी,माध्यमिक बिद्यालयमा कार्यरत कर्मचारी,प्राथमिक,निम्न माध्यमिक र माध्यमिक तहका कार्यरत स्थायी,अस्थायी,राहत,करार र शिक्षण सिकाई अनुदान समेतमा कार्यरत शिक्षकहरुको विवरण माग गरेको एकाइ प्रमुख गुरुङले जानकारी दिनुभयो । यसअघिका एकाइ प्रमुख योगेश्वर भट्टराई स्वेच्छिक अवकासमा गएपछि शाखा अधिकृत गुरुङले एकाइ प्रमुखको जिम्मेवारी पाउनु भएको हो ।