|

विस्फोटको जोखिममा लोनाक हिमताल

-प्रयास लिम्बू
ताप्लेजुङ, कात्तिक १४ । ताप्लेजुङको कञ्चनजंघा क्षेत्रस्थित लोनाक हिमताल विस्फोटको जोखिममा रहेको छ । कञ्चनजंघा आधार शिविर लोनाक क्षेत्रमा रहेको हिमशिखर अर्थात हिउँको पहाडको फेदमा अवस्थित लोनाक हिमताल विस्फोटको जोखिममा रहेको हो ।
कञ्चनजंघा हिमालको काखमा रहेको लोनाक हिमताल विस्फोटको उच्च जोखिममा रहेको स्थानीय पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाले बताउनुभयो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार हिमशिखरको फेदीमा लोनाक हिमताल रहेकाले विस्फोटको जोखिममा पर्दै गएको हो ।
अग्लो हिउँको पहाड र चट्टानसहितको हिमपहिरो खसेर लोनाक हिमताल पुरिने र कुनैबेला बारिने हुँदा विस्फोटको जोखिम बढ्दै गएको शेर्पाको भनाइ छ । त्यस्तै हिउँ पग्लेर झर्ने हिमनदीहरु पनि सोही तालमा पस्ने भएकाले विस्फोटको जोखिम बढेको उहाँले बताउनुभयो ।
केहीवर्ष अघिसम्म लोनाक हिमतालको आकार सामान्य अवस्थामा एकनासको रहेकोमा अहिले हिमपहिरो र हिमनदीका कारण तालको पानी निकास हुने ठाउँमा बारिएर आकार बढ्दै गएको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो । सामान्य अनुमान र दृष्टिका आधारमा लोनाक हिमताल विस्फोटको उच्च जोखिममा रहेको उहाँ बताउनुहुन्छ । कञ्चनजंघाको भ्रमण गर्ने जो कोही पर्यटकले भने लोनाक हिमताल अवलोकन गर्दै विस्फोट हुनसक्ने जोखिमपूर्ण अवस्थामा रहेको बताउने गरेका पनि शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार गत बैशाखमा कञ्चनजंघा भ्रमणका लागि जापानबाट आउनुभएकी एक महिला पर्यटकले लोनाक हिमतालको अवस्थाबारे दुई-तीन दिनसम्म अध्ययन गर्नुभएको थियो । ती महिला पर्यटकले अबको तीन/चार वर्षभित्र कुनै पनि बेला हिमताल विस्फोट हुनसक्ने जोखिममा रहेको भनी आफूलाई सुनाएको शेर्पाले बताउनुभयो । उहाँले आधिकारिक रुपमा भने लोनाक हिमतालको अवस्थाबारे कुनै वैज्ञानिक अर्थात विज्ञबाट हालसम्म अध्ययन÷अनुसन्धान नभएको बताउनुभयो ।
यता लोनाक हिमताल विस्फोट भएमा ठुलो क्षति हुनसक्ने अवस्था रहेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेको सिमाना भएर बग्ने घुन्सा खोलाको शीरमा लोनाक हिमताल रहेको छ । सो हिमताल विस्फोट भएमा घुन्सा खोलामा बाढी आउने र घुन्सा खोलाको बाढी तमोर नदीमा मिसिएर विशाल रुप लिने अवस्था रहेको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार घुन्सा खोलामा बाढी आएको घुन्सा बस्ती नै जोखिम पर्ने छ । घुन्सादेखि तलका बस्तीहरु झनै जोखिममा पर्ने उहाँले बताउनुभयो । लेलेपको सेखाथुम, जापानटार, लामाटार क्षेत्रअन्तर्गत घुन्सा खोला जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेकाले हिमताल विस्फोट भई बाढी आएमा ठुलो क्षति गर्ने छ ।
त्यस्तै घुन्साखोला दोभान रानीपुल क्षेत्रदेखि तल्लो भागमा तमोर नदीमा निर्माणाधीन अवस्थामा रहेको माथिल्लो तमोर जलविद्युत आयोजना र हाल सञ्चालनमा रहेको सानिमा मध्य तमोर जलविद्युत आयोजनाका कारण बाढीले विशाल रुप लिने अवस्था रहेको छ । घुन्सा खोला तटीय क्षेत्रका बस्ती र तमोर नदी तटीय (किनार) क्षेत्रका छिरुवा, मित्लुङ, हान्द्रुङ र दोभान बजार तथा बस्ती बढीको उच्च जोखिममा रहेका छन् ।

Similar Posts