७१ औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा सार्वजनिक स्थल सफाई तथा वृक्षरोपण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २९ । ७१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको संयोजनमा बिहीबार फुङलिङका मठमन्दिरसहितका सार्वजनिक स्थलहरुको सरसफाई गरिएको छ ।

फुङलिङ नगरपालिका,जिल्ला ट्राफिक प्रहरी कार्यालय,लिटलबुद्ध इङलिस बोर्डिङ स्कुल,जिमी पोखरी टोल विकास संस्था र वीरेन्द्र चौक युवा समाजको सहभागितामा जिमीपोखरी राम मन्दिर तथा शिव मन्दिर क्षेत्र र वीरेन्द्र चौकमा रहेको सरस्वती कुण्ड परिसर सफाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले प्रहरी दिवसको अवसरमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र समुदायका सदस्यहरु समेतको सहभागितामा सार्वजनिक स्थल सफाई गरिएको जानकारी दिनुभयो ।

फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,डिएसपी बजगाँईसहितका प्रहरी कर्मचारी,लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी,लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन,वीरेन्द्र चौक युवा समाजका अध्यक्ष दिनेश खवाससहितका नागरिक समाजका अगुवा तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा सार्वजनिक क्षेत्र सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी दिवसको अवसर पारेर बुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

यसबर्ष असोज ३० गते शुक्रवार ‘विपद्मा सारथी, संकटमा छहारीः प्रविधियुक्त नेपाल प्रहरी’भन्ने नाराका साथ ७१ औं प्रहरी दिवस मनाइँदै छ । अमर प्रहरी परिवार र जग्गादाता तथा सहयोगी व्यत्तित्वलाई सम्मान,उत्कृष्ट प्रहरीलाई पुरस्कृत तथा अमर प्रहरी स्मारकमा माल्यार्पणसहितका कार्यक्रम गरी शुक्रवार ताप्लेजुङमा प्रहरी दिवस मनाउन लागिएको प्रहरीले जनाएको छ ।

Similar Posts