सार्वजनिक शिक्षा सुधारको अर्को उपायमा मैवाखोला : गरियो आलोचनात्मक शिक्षण पद्धतिबारे कार्यशाला
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २६ । सार्वजनिक शिक्षा सुधारलाई प्रमुख प्राथमिकतामा साथ अघि बढाइरहेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आलोचनात्मक तथा सृजनात्मक शिक्षण पद्धति अघि बढाएको छ ।
आलोचनात्मक शिक्षणले समाजको रूपान्तरणलाई केन्द्रबिन्दु मान्छ । यसले सिकारुकेन्द्रित शिक्षण विधिलाई नै आधार मानेको । समाजमा सामाजिक न्याय स्थापना गरी समाज रूपान्तरण गर्नु आलोचनात्मक शिक्षण पद्धतिको बिशेषता हो । यस प्रकृतिको अध्ययनले बालबालिकाहरूलाई आलोचनात्मक शिक्षणबाट शिक्षण गरी उनीहरूमा कायम रहेको विश्वासलाई सकारात्मक शैक्षिक विकासको अभियानमा रूपान्तरण गर्छ । मैवाखोला गाउँपालिकाको शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष विजयप्रकाश वनेमले नौलो शिक्षण पद्धतिले हाम्रो शैक्षिक गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिनु भएको छ ।
पालिका अध्यक्ष वनेमका अनुसार आलोचनात्मक शिक्षण पद्धतिले विद्यार्थीलाई विषयप्रति उनीहरूकै बोधबाट विषयहरूको उठान गर्दै तथ्यमा आधारित उडान भर्न,आलोचनात्मक प्रश्नहरूको खोजी तथा सिकेका विषयहरुले व्यक्तिका जीवनमा के कस्ता प्रभावहरू पार्छन् वा पारिरहेका हुन्छन् भन्ने जस्ता सृजनात्मक भएर सोच्न सिकाउने र शिक्षकहरुलाई प्रबचक बन्न नदिई सिकाई सहजकर्ताको मात्र भूमिकामा केन्द्रित गर्ने भएकोले यो शिक्षण सिकाई प्रभावकारी र नतिजामुखी हुने छ । आलोचनात्मक तथा सृजनात्मक शिक्षण पद्धति सम्वन्धी तीनदिने कार्यशाला सम्पन्न गर्दै मैवाखोलाले यस्तो प्रकृतिको शिक्षण सिकाईलाई पालिकाका सबै बिद्यालयमा प्रयोग गर्ने भनेको छ ।
शिक्षाविद् विमलकुमार फुयाँल र पुनम कुइँकेललाई बिषय विज्ञको जिम्मेवारी दिएर कार्यशाला सम्पन्न गरेको मैवाखोलाले नारायणी मावि साँघु,मैवाखोला मावि तेम्बे,जनकल्याण मावि ढुङगेसाँघु,पार्टीडाँडा मावि फाकुम्बा र महेन्द्र मावि साङलुप्पाका प्रधानाध्यापक र बिषय शिक्षकलाई कार्यशालामा सहभागी गराएको छ । यो प्रारम्भिक चरणको कार्यशाला भएको बताउँदै पालिका अध्यक्ष वनेमले आलोचनात्मक तथा सृजनात्मक शिक्षण पद्धतिलाई पालिकाका सबै बिद्यालयमा बिस्तार र कार्यान्वयन गर्ने बताउनु भएको छ । पालिका अध्यक्ष वनेमले सहभागी प्रधानाध्यापक तथा बिषय शिक्षकले कार्यशालाबाट प्राप्त सीपलाई कक्षा कोठामा अनिवार्य प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिँदै यसको कार्यान्वयनको अवस्था बारे पालिकाको शिक्षा समितिबाट अनुगमन गरी पृष्ठपोषण दिने र लिने कार्य हुने समेत जानकारी दिनुभयो ।
२०८१ साल जेठ १८ र १९ गते दुईदिने वृहत्त शैक्षिक सम्मेलन गर्दै सार्वजनिक शिक्षा सुधारको संकल्प गरेको मैवाखोलाले त्यसयता सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न नीति,रणनीति र कार्यनीति तय गर्दै त्यसका आधारमा गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । सार्वजनिक शिक्षा सुधारका लागि पालिका देखि बिद्यालय व्यवस्थापन समितिसम्मको भूमिका बलियो बनाउँदै लगेको मैवाखोलाले शैक्षिक सुधारमा अभिभावकलाई समेत उत्तरदायी बनाउन अभिभावक शिक्षा सचेतना कार्यक्रम समेत गरेको छ । सार्वजनिक शिक्षा सुधारकै एक अंशको रुपमा पालिकाले अहिले आलोचनात्मक तथा सृजनात्मक शिक्षण पद्धति प्रयोगमा ल्याएको हो ।