सिँवा र लेलेपमा गरियो अभिभावक शिक्षा कार्यक्रमको समिक्षा,पढाई छाडेकालाई बिद्यालय फर्काउने प्रयास जारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । सार्वजनिक शिक्षा सुधारमा अभिभावकलाई समेत जवाफदेहि बनाउन अभिभावक शिक्षा सचेतना कार्यक्रम चलाइरहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शुक्रवार अभिभावक शिक्षा बारे समिक्षात्मक कार्यक्रम गरेको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाको वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिवुक मावि र वडा नं ३ लिङखिमस्थित सिँवा माविमा अभिभावक अभिमुखीकरण तथा शिक्षकहरुसंग शैक्षिक अवस्था बारे समिक्षात्मक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूले समिक्षात्मक कार्यक्रममार्फत बिद्यालयको शैक्षिक गुणस्तर सुधार,बिद्यार्थीको सिकाई उपलब्धी अभिबृद्धि तथा शिक्षाप्रति अभिभावकको भूमिका र जिम्मेवारीका बिषयमा छलफल भएको जानकारी दिनुभयो । पालिकाले शिक्षक,अभिभावक,बिद्यार्थी,बिद्यालय व्यवस्थापन समिति,बिद्यालय प्रशासन र स्थानीय सरकारबिच सहकार्य बढाएर मात्र फक्ताङलुङको शैक्षिक भविष्य उज्वल हुने बताएको छ ।

सार्मथ्य फाउण्डेसनका कार्यक्रम निर्देशक राजेन्द्रप्रसाद पन्तले बिद्यार्थीको शैक्षिक भबिष्यप्रति प्रत्येक अभिभावकले लिने चासो र लगाएको लगाव तथा मेहनेतले सिकाई उपलब्धी सुधार हुने भएकोले सार्वजनिक शिक्षा सुधारमा अभिभावक पनि उत्तिकै उत्तरदायी र जवाफदेहि बन्नुपर्ने निश्कर्ष छलफलका क्रममा आएको जानकारी दिनुभयो । पालिकाले प्रत्येक वडाका टोलबस्ति स्तरमा पुगेर अभिभावक शिक्षा सचेतना कार्यक्रम चलाइरहेको छ । अभिभावक शिक्षा सचेतना कार्यक्रमसंगै बिचमै कक्षा छाडेर हिंडेका बिद्यार्थीलाई फर्काउने अभियान पनि चलिरहेको पन्तले जानकारी दिनुभयो । कक्षा ८ को पढाई छाडेका सिंसवाका मनिष राई बिद्यालय आउन तयार देखिनु भएको र थप दुईजना बिद्यार्थीलाई पनि कक्षा कोठामै फर्काउने गरी प्रयास जारी रहेको पन्तले बताउनुभयो ।

Similar Posts