मिक्वाखोलामा पाँचशैयाको आधारभूत अस्पतालको उद्घाटन,डाक्टरसहित ७ जनालाई सेवा करारमा लिइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाको केन्द्र साँवा(थलङ)मा ५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ ।

आधारभूत अस्पतालको शुक्रवार पालिका अध्यक्ष भक्तबहादुर कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । भवनमा ३० कोठा रहेका छन् । मिक्वाखोला गाउँपालिका अध्यक्ष कार्कीको स्वकीय सचिवालय संयोजक घनेन्द्र थापाका अनुसार विकोई सेवालुङ पहाडी जे.भीले भ्याटसहित ६ करोड ६२ लाख २४ हजार १४४ रुपैयाँ ६५ पैसामा २०७८ साल असार ३० गते सम्झौता गरी कार्य सम्पन्न गरेको हो ।

भवन निर्माण र अस्पतालका लागि आवश्यक पर्ने जग्गा स्थानीय देउप्रसाद थलङ,शमसेरबहादुर थलङ र स्वर्गीय हरेराम थलङ र उहाँका परिवारबाट २–२ रोपनीका दरले प्राप्त भएको पालिकाले जनाएको छ । आधारभूत अस्पतालको उद्घाटनसंगै पालिकाले मेडिकल अधिृत(आठौं तहका) १ जना,स्टाफ नर्स(पाँचौं तहका) १ जना,ल्याव असिष्टेन्ट(चौथो तहका) २ जना र कार्यालय सहयोगी(श्रेणी विहिन) ३ जना गरी ७ जनालाई सेवा करारमा पदपूर्ति गर्नेगरी प्रकृया अघि बढाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार आवश्यक पदपूर्तिका लागि आबेदन दिन चाहनेले कात्तिक १८ गते भित्र पालिकामा आबेदन पेश गरिसक्नुपर्ने छ ।

Similar Posts